काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बारमा गएराति भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्।
बीबीसीका अनुसार बैंककको चातुचाक जिल्लास्थित ‘रोङ बियर ना लात फ्राओ’ बारमा स्थानीय समयअनुसार राति करिब ११ः३० बजे आगलागी भएको हो। थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चान्विराकुलले मृत्यु हुनेमध्ये ९ जना पुरुष र १८ जना महिला रहेको जानकारी दिएका छन्।
आगलागीमा घाइते भएका ६० भन्दा बढी व्यक्तिको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही व्यक्ति अझै बेपत्ता रहेको जनाइएको छ।
प्रधानमन्त्री चान्विराकुलका अनुसार आगलागी सुरु हुँदा बारमा प्रस्तुति दिइरहेका एक संगीतकारले मुख्य विद्युत् स्विच (कट–आउट स्विच) मा आगो सल्किएको बताएका थिए।
अग्निनियन्त्रक घटनास्थल पुग्दा बारको मुख्य प्रवेशद्वार आगोले पूर्ण रूपमा घेरिएको थियो। त्यसबेला ग्राहकहरू ज्यान बचाउन आगोको बीचबाट बाहिर निस्कने प्रयास गरिरहेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बारबाट आगोको ठूलो ज्वाला निस्किरहेको र मानिसहरू चिच्याउँदै भागिरहेको दृश्य देखिएको छ।
मुख्य ढोकाबाट बाहिर निस्कन नसकेपछि धेरैले धुवाँ र आगोबाट बच्न भवनको पछाडिको शौचालयमा आश्रय लिएका थिए। उद्धारकर्मीहरूले अधिकांश शव त्यही शौचालयबाट फेला पारेका छन्।
अग्निनियन्त्रकहरूले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका भए पनि आगलागीले बारभित्र ठूलो मानवीय क्षति पुर्याएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।