काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य पर्यटन प्रवर्दनका लागि पर्यटन बोर्डमा करारका कर्मचारीमार्फत सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी भइरहेको बताएका छन्।
बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले आरोग्य पर्यटनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन आवश्यक जनशक्ति करारमा नियुक्त गरिने बताए।
‘काम गरिरहने कर्मचारी थप्छौं। आवश्यक परे पाँच वा १० वर्षका लागि करारमा कर्मचारी राखेर काम अघि बढाउँछौं। पर्यटन बोर्डमा सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी गरेका छौं,’ उनले भने।
मन्त्री पौडेलले आरोग्य पर्यटनको विकासका लागि अनुसन्धानकर्ता, विद्यार्थी, योग तथा ध्यानका प्रशिक्षक र अभ्यासकर्तालाई समेत अभियानमा जोडिने बताए। उनका अनुसार नेपालको परम्परागत खानपान, आरोग्य खेती प्रणाली, भेषभूषा तथा जीवनशैलीसँग सम्बन्धित विषयहरूको सूचीकरण गरी पर्यटनसँग आबद्ध गरिनेछ।
‘खानेकुराको पनि आफ्नै आरोग्यता छ। खेतीपातीमा आरोग्य प्रणाली छ। आरोग्य प्रकारको भेषभूषा, खानपिन र जीवनशैलीसँग जोडिएका सबै विषयको सूचीकरण गरेर अभ्यासमा लैजानुपर्छ,’ उनले भने।
मन्त्री पौडेलले आरोग्य पर्यटनलाई प्राथमिकतामा राखेर सञ्चालन भइरहेका होटल व्यवसायीलाई नेपालको मौलिक उत्पादन र परम्परागत अभ्यासलाई आफ्नो सेवामा समावेश गर्न आग्रह गरेको पनि जानकारी दिए।
‘नेपालको विशुद्ध उत्पादनलाई पनि प्राथमिकता दिनुपर्छ। पोटरी अर्थात् माटोका भाँडा बनाउने, धान रोप्ने जस्ता गतिविधि पनि आरोग्य अभ्यास हुन्। यस्ता परम्परागत अभ्यासलाई पर्यटनसँग जोड्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने।
उनका अनुसार आरोग्य पर्यटनसम्बन्धी नीतिगत निर्णय गर्ने समिति गठन भइसकेको छ भने अब सचिवालय स्थापना गरी कार्यक्रमलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ।