मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

भेनेजुएला भूकम्प : मृतक संख्या ३२ पुग्यो, ७०० भन्दा बढी घाइते

बिहिबार, असार ११ २०८३

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ भने ७०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिनुभएको छ।

देशका विभिन्न क्षेत्रमा एक मिनेटको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि व्यापक क्षति भएको छ। दर्जनौँ भवनहरू भत्किएका छन् भने प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार टोलीहरू परिचालन गरिएका छन्।

कार्यवाहक राष्ट्रपति रोड्रिग्जका अनुसार ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ। उहाँले उक्त क्षेत्र गम्भीर मानवीय संकटबाट गुज्रिरहेको बताउँदै धेरै भवन ध्वस्त भएको र भग्नावशेषमा फसेकाहरूको उद्धार कार्य तीव्र रूपमा जारी रहेको जानकारी दिनुभयो।

उहाँले ला गुआइरालाई विपद् प्रभावित क्षेत्रका रूपमा वर्णन गर्दै नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो। कठिन परिस्थितिका बीच उद्धारकर्मीहरू निरन्तर खटिएर प्रभावित नागरिकको उद्धारमा जुटिरहेको उहाँको भनाइ छ।

सरकारले प्रभावित क्षेत्रमा राहत, उपचार तथा आवश्यक मानवीय सहायता पुर्‍याउने कार्यलाई तीव्र बनाएको जनाएको छ। साथै भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम पनि जारी रहेको बताइएको छ।