मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

भेनेजुएलामा शक्तिशाली भूकम्प, व्यापक क्षति र आपत्कालीन अवस्था घोषणा

बिहिबार, असार ११ २०८३

काराकास । भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले व्यापक क्षति पुर्‍याएका छन्। राजधानी काराकाससहित देशका विभिन्न सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ मानिस सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्।

भूकम्पपछि सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रका नाममा सम्बोधन गर्दै धेरै राज्य प्रभावित भएको जानकारी दिनुभएको छ। यद्यपि क्षतिको पूर्ण विवरण तथा हताहतको आधिकारिक सङ्ख्या भने सार्वजनिक गरिएको छैन।

सरकारका अनुसार देशको प्रमुख हवाई प्रवेशद्वार सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेको छ। त्यसैले विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ भने विद्यालयका कक्षाहरू केही दिनका लागि स्थगित गरिएका छन्। केही विद्यालयलाई राहत वितरण केन्द्र तथा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गरिने जनाइएको छ।

तटीय फाल्कन राज्यका गभर्नर भिक्टर क्लार्कका अनुसार कम्तीमा ३२ जना अस्पतालमा भर्ना भएका छन् भने भूकम्प गएको चार घण्टापछि पनि १५ जना भग्नावशेषमा फसेका थिए। स्वास्थ्यकर्मीहरूलाई तत्काल अस्पतालमा उपस्थित भई उपचार सेवामा खटिन सरकारले आह्वान गरेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्पको केन्द्र काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा रहेको मोरोन क्षेत्र नजिक २२ किलोमिटर गहिराइमा थियो। पहिलो धक्कापछि एक मिनेटमै ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प आएको थियो, जसको केन्द्र मोरोनबाट १६ किलोमिटर दक्षिणपश्चिममा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ।

भूकम्पका कारण राजधानी काराकासका सडक, पार्क तथा खुला स्थानमा हजारौँ मानिस रातभर बसेका छन्। कतिपय क्षेत्रमा भवनका पर्खाल भत्किएका, सडकमा भग्नावशेष छरिएका तथा विद्युत् र मोबाइल सेवा अवरुद्ध भएको जनाइएको छ। सरकारले मेट्रो सेवा र प्राकृतिक ग्यास आपूर्ति पनि अस्थायी रूपमा बन्द गरेको छ।

स्थानीय बासिन्दाहरूले भवनहरू अत्यन्त तीव्र रूपमा हल्लिएको र घरभित्रका सामानहरू खसेर त्रासदीपूर्ण अवस्था सिर्जना भएको बताएका छन्। सम्भावित परकम्पको जोखिमलाई ध्यानमा राख्दै नागरिकहरूलाई खुला स्थानमा बस्न र सतर्क रहन आग्रह गरिएको छ।

भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायले पनि सहानुभूति र सहयोगको प्रस्ताव गरेका छन्। संयुक्त राज्य अमेरिका, चिली, एल साल्भाडोर तथा इक्वेडरले आवश्यक मानवीय सहायता उपलब्ध गराउन तत्पर रहेको जनाएका छन्।

भूकम्पको असर छिमेकी ब्राजिल र कोलम्बियासम्म महसुस गरिएको छ। यद्यपि ती देशहरूमा ठूलो क्षति वा मानवीय हानिको विवरण प्राप्त भएको छैन। प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक चेतावनी जारी गरे पनि पछि त्यसलाई फिर्ता लिएको जनाएको छ।

वैज्ञानिकहरूका अनुसार भेनेजुएलामा यस्ता शक्तिशाली भूकम्प कमै आउने भए पनि देश दक्षिण अमेरिकी र क्यारिबियन टेक्टोनिक प्लेटको सीमाक्षेत्र नजिक अवस्थित रहेकाले भूकम्पीय जोखिम कायम छ।