कायरो । इजिप्ट, पाकिस्तान, साउदी अरब र टर्कीका विदेशमन्त्रीहरूले आइतबार कायरोमा भएको बैठकमा हालै सम्पन्न अमेरिका–इरान शान्ति समझदारीबारे छलफल गर्दै त्यसको स्वागत गरेका छन्।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा मन्त्रीहरूले उक्त समझदारीलाई मध्यपूर्व क्षेत्रमा तनाव कम गर्ने तथा सुरक्षा र स्थिरता प्रवर्द्धन गर्ने सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन्। उनीहरूले यस सम्झौताले क्षेत्रीय सुरक्षा, ऊर्जा बजार, अन्तर्राष्ट्रिय समुद्री मार्ग तथा विश्वव्यापी आपूर्ति शृंखलामा देखिएका जोखिमहरू न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
विदेशमन्त्रीहरूले समझदारीलाई सम्भव बनाउन योगदान गर्ने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पक्षहरूको प्रयासको प्रशंसा गर्दै सम्बन्धित पक्षहरूलाई आफ्ना प्रतिबद्धताहरू इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन्। साथै, बाँकी रहेका विवादित विषयहरूको दिगो, प्रमाणीकरणयोग्य र पारस्परिक रूपमा स्वीकार्य समाधान खोज्न वार्ताको आगामी चरणलाई शीघ्र निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिएका छन्।
बैठकमा क्षेत्रीय सुरक्षा र स्थायित्व सुदृढ गर्न खाडी क्षेत्र तथा लेभान्टका देशहरूको सुरक्षा चासोलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। मन्त्रीहरूले क्षेत्रीय शान्ति र सहकार्यलाई थप मजबुत बनाउन निरन्तर संवादको महत्त्वसमेत उल्लेख गरेका छन्।
यसैबीच, उनीहरूले प्यालेस्टिनी मुद्दालाई मध्यपूर्वमा न्यायपूर्ण, व्यापक र दिगो शान्ति स्थापनाको केन्द्रबिन्दुका रूपमा चित्रण गरेका छन्। मन्त्रीहरूले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारप्रति आफ्नो समर्थन दोहोर्याउँदै सन् १९६७ जुन ४ को सीमारेखाका आधारमा पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना गर्ने अधिकारको समर्थन गरेका छन्।