सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठन सधैँ सहिद परिवारको साथमा रहेको बताएका छन् । उनले सहिदले बगाएको रगत र पसिनाले गर्दा आज संगठन यहाँसम्म आईपुगेको स्मरण गर्दै सहिदका हरेक परिवारको सुख दुःखलाई साथमा लिएर संगठन अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सहिद परिवारका सदस्यहरुमा आईपर्ने समस्याको समाधानतर्फ अग्रसर रहँदै उनीहरुका आश्रित परिवारलाई के गर्न सकिन्छ भन्ने भावनाकासाथ संगठन लागि रहने बताए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत कार्यालयहरुको निरिक्षण भ्रमणका क्रममा महानिरीक्षक पौडेल पर्वत जिल्लाको कुस्मा नगरपालिका–७ खरेहास्थित सहिद परिवारको घर पुगेर सो प्रतिवद्धता व्यक्त गर्नुकासाथै परिवारका सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरेका थिए । उनले आगामी दिनहरुमा समेत सहिदका परिवारहरुसँग निरन्तर भेटघाट गर्ने योजना रहेको बताउनुहुँदै सहिदको परिवारमा परेका समस्या समाधनको लागि सशस्त्र प्रहरी बल नेपालको नजिकको युनिटहरुमा सम्पर्क राख्न समेत अनुरोध गरे ।
उनले सहिद परिबारको पारिवारिक जीवन, सन्तानको पढाई लागायतको बिषयमा समेत जानकारी लिए । यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालमा समेत ६÷६ महिनामा हरेक सहिद परिवारसँग नजिकका युनिट बाट भेटघाट कार्यक्रम राख्नुकासाथै सशस्त्र प्रहरी बल नेपालका युनिटहरुको वार्षिकोत्सवमा सहिद परिवारका सदस्यहरुलाई सहभागी गराईने गरिएको थियो ।