मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

अमेरिकी कारबाहीमा ‘ट्रेन डे अरागुआ’ का शीर्ष नेता मारिए : ट्रम्प 

आइतबार, जेष्ठ ३१ २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाली मूलको कुख्यात आपराधिक समूह ‘ट्रेन डे अरागुआ’ का सर्वोच्च नेता अमेरिकी सैन्य कारबाहीमा मारिएको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले जारी गरेको वक्तव्यमा अमेरिकी सेनाले उक्त समूहविरुद्ध सञ्चालन गरेको विशेष अभियानमा संगठनका शीर्ष नेताको मृत्यु भएको उल्लेख गरिएको छ। उनले यसलाई अमेरिकाको राष्ट्रिय सुरक्षासँग सम्बन्धित महत्वपूर्ण सफलता भएको बताएका छन्।

संयुक्त राज्य अमेरिकाले ‘ट्रेन डे अरागुआ’ लाई सुरक्षा चुनौतीका रूपमा हेर्दै यसअघि नै आतंकवादी संगठनको सूचीमा समावेश गरेको थियो। अमेरिकी प्रशासनका अनुसार उक्त समूह लागुऔषध तस्करी, मानव तस्करी, जबरजस्ती असुली, हत्या तथा संगठित अपराधका विभिन्न गतिविधिमा संलग्न रहेको आरोप छ।

राष्ट्रपति ट्रम्पले आफ्नो वक्तव्यमा अमेरिकी सुरक्षा निकाय र सेनाको प्रशंसा गर्दै देशको सुरक्षामा खतरा पुर्‍याउने समूहहरूमाथि कारबाही जारी रहने स्पष्ट पारेका छन् ।

यद्यपि उक्त कारबाही, मारिएका नेताको परिचय तथा घटनाको स्थानबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। अमेरिकी अधिकारीहरूले यस सम्बन्धमा थप जानकारी उपयुक्त समयमा उपलब्ध गराइने बताएका छन्।

‘ट्रेन डे अरागुआ’ पछिल्ला वर्षहरूमा ल्याटिन अमेरिकी क्षेत्रबाट फैलिँदै विभिन्न देशमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप खेप्दै आएको छ। यस समूहविरुद्ध अमेरिका सहित विभिन्न मुलुकले सुरक्षा निगरानी र कारबाहीलाई तीव्र बनाएका छन्।