मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सोमबार, जेष्ठ ४ २०८३

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही स्थानका ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दी क्षेत्रमा रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरू दुवैको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा आइतबार राति नै मृत्यु भएको बताइएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विक र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । मृतकहरूको शव आज बिहान घटनास्थलमा मुचुल्का गरी पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जानकारी दिएको छ ।