काठमाडौं । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित स्मृति सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन्। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वर्तमान तथा पूर्व पदाधिकारी, विभिन्न तहका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
स्मृति सभामा नेता द्वय मदन भण्डारी र जीवराज आश्रित को तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा नेताहरूले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) तथा जीवराज आश्रितको राजनीतिक योगदानको स्मरण गरेका थिए।
सभालाई सम्बोधन गर्दै भण्डारीले जनताको बहुदलीय जनवाद नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताइन्। उनले मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुर्याएको उल्लेख गरिन्।
उनले राजनीति जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको भन्दै जनविश्वासबाट निर्देशित राजनीति नै सफल हुने मान्यतालाई ती नेताद्वयले अझ गहिरो बनाएको धारणा व्यक्त गरिन्।
भण्डारीले एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवादलाई नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको बताइन्। उनका अनुसार जबजले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई मार्गदर्शन गर्दै एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।