मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

एमालेभित्र नेतृत्व परिवर्तनको बहस, सचिवालय बैठक अन्तिम समयमा स्थगित

आइतबार, जेष्ठ ३ २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को शनिबार बस्ने तय भएको सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुण्डुस्थित निवासमा दिउँसो १ बजेका लागि बोलाएको बैठक अब सोमबार बस्ने भएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आइतबार पर्ने मदन–आश्रित स्मृति दिवसको तयारीका कारण नेताहरू व्यस्त हुनुपर्ने भएकाले बैठक सारिएको हो । केही नेताहरू उपत्यकाबाहिरका कार्यक्रममा सहभागी हुनुपर्ने भएपछि सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको बताइएको छ ।

११औँ महाधिवेशनपछि एमाले सचिवालयको यो आठौँ बैठक हुने तयारी थियो । अध्यक्ष ओलीको स्वास्थ्य समस्या, गिरफ्तारी र पछिल्ला राजनीतिक घटनाक्रमका कारण लामो समयदेखि पार्टीको औपचारिक बैठक बस्न सकेको थिएन । ‘जेन–जी’ आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा पक्राउ परेका ओली १२ दिनपछि अदालतको आदेशबाट रिहा भएका थिए । त्यसपछि उहाँको पत्थरीको शल्यक्रिया भएको थियो । अहिले स्वास्थ्यमा सुधार आए पनि पूर्ण रूपमा सक्रिय भइसकेका छैनन् ।

कार्यविभाजन कि हारको समीक्षा ?

पार्टी सचिव महेश बस्नेतका अनुसार बैठकमा समसामयिक राजनीति, संगठन सुदृढीकरण, नेताहरूको कार्यविभाजन तथा सरकारका कामकारबाहीबारे छलफल हुने तयारी छ ।

तर ११औँ महाधिवेशन सम्पन्न भएको पाँच महिना बितिसक्दा पनि अधिकांश नेताहरूको जिम्मेवारी टुंगो लाग्न सकेको छैन । रमेश बडाल, मीनबहादुर शाही, भीष्म अधिकारी र भानुभक्त ढकाल बाहेक अरू नेताहरू स्पष्ट जिम्मेवारीविहीन अवस्थामा छन् ।

संस्थापन पक्ष कार्यविभाजन टुंग्याएर संगठनलाई सक्रिय बनाउने तयारीमा देखिए पनि असन्तुष्ट समूह भने निर्वाचनमा भएको कमजोर प्रदर्शनको गम्भीर समीक्षा नगरी नेतृत्व समस्याबाट ध्यान मोड्न खोजिएको आरोप लगाइरहेको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिटसहित जम्मा २५ सिटमा सीमित भएको थियो । ४९ जना उम्मेदवारको जमानत जफत हुनु एमालेका लागि ठूलो राजनीतिक धक्का मानिएको छ ।

नेतृत्व परिवर्तनको बहस चर्किंदै

निर्वाचन परिणामपछि एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ । अध्यक्ष ओलीका निकट मानिने उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसमेत नयाँ नेतृत्वको पक्षमा खुलेको चर्चा छ ।

उनीहरूले अध्यक्ष ओलीलाई भेटेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सहज बनाउन आग्रह गरेको एमाले स्रोतको दाबी छ । उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त र उपमहासचिव योगेश भट्टराईलगायतका नेताहरू पनि परिवर्तन पक्षमा देखिएका छन् ।

यता कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’का पछिल्ला अभिव्यक्तिले समेत पार्टीभित्र विवाद बढाएको छ । विशेषगरी नेपाली सेनासम्बन्धी टिप्पणी र सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्टि बढेको बताइन्छ ।

युवा दबाब र विद्या भण्डारीको सक्रियता

एमालेभित्र युवा नेताहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन् । युवा नेता कमल जोशीका अनुसार करिब सात सय महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन समर्थन जनाइसकेका छन् ।

यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताले पनि एमालेभित्र नयाँ चर्चा सुरु भएको छ । उनले गुण्डु पुगेर अध्यक्ष ओलीसँग लामो छलफल गरेकी थिइन् । उक्त भेटलाई सामान्य शिष्टाचारभन्दा बढी पार्टीको वर्तमान संकट, असन्तुष्टि र सम्भावित पुनर्गठनसँग जोडेर हेरिएको छ ।

कतिपय नेताहरूले एमालेलाई नयाँ ढंगले अघि बढाउन वैकल्पिक नेतृत्वका रूपमा विद्यादेवी भण्डारीलाई अगाडि सार्ने विषयमा समेत आन्तरिक छलफल सुरु गरेका छन् ।