काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ले रुस–युक्रेन युद्ध अन्त्यतिर पुगेको संकेत गरेका छन् ।
रुसको ‘विजय दिवस’ परेडपछि शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले युद्ध अब अन्त्यतिर उन्मुख रहेको धारणा व्यक्त गरेका हुन् ।
“मलाई लाग्छ, यो विषय अब अन्त्यतिर आउँदैछ,” पुटिनले भने ।
युक्रेनलाई पश्चिमा मुलुकहरूले दिइरहेको सहयोगले सीमा नाघेको हो कि भन्ने प्रश्नको जवाफमा उनले रुससँगको टकराव बढाउने प्रयास अझै जारी रहेको टिप्पणी गरे।
“उनीहरूले रुससँगको टकराव बढाउन सुरु गरे, जुन आजसम्म जारी छ,” उनले भने, “मलाई लाग्छ यो अन्त्यतिर जाँदैछ, तर यो अझै पनि गम्भीर विषय हो ।”
रुस र युक्रेनबीच तीनदिने युद्धविराम जारी रहेका बेला पुटिनको यो अभिव्यक्ति आएको हो । दोस्रो विश्वयुद्धमा सोभियत संघले नाजी जर्मनीमाथि विजय हासिल गरेको सम्झनामा रुसले प्रत्येक वर्ष ‘विजय दिवस’ मनाउने गर्दछ ।
यसपटकको परेडमा रुसका निकट सहयोगी राष्ट्रका नेताहरू मात्र सहभागी भएका थिए । झन्डै दुई दशकपछि पहिलोपटक परेडमा कुनै पनि सैन्य हतियार प्रदर्शन गरिएको थिएन ।
रुस–युक्रेनबीचको तीनदिने युद्धविराम अमेरिकी मध्यस्थतामा भएको वार्तापछि घोषणा गरिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले शुक्रबार युद्धविरामबारे जानकारी दिएका थिए ।
यसैबीच, युरोपेली संघका तर्फबाट युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले उपयुक्त समय आएपछि रुस र युक्रेनसँग छुट्टाछुट्टै वार्ताका लागि युरोपेली संघ तयार रहेको बताएका थिए ।
पत्रकार सम्मेलनमा पुटिनले सम्भावित मध्यस्थकर्ताको रूपमा जर्मनीका पूर्वचान्सलर गेरहार्ड श्रोडर को नाम लिएका थिए। श्रोडरलाई पुटिनका निकट पश्चिमा सहयोगी तथा लामो समयदेखिका व्यक्तिगत मित्र मानिन्छ ।
पुटिनले युरोपेली संघमाथि द्वन्द्व थप चर्काउने प्रयास गरेको आरोप पनि लगाए । “यो खेल महँगो साबित हुन सक्छ,” भन्दै उनले युरोपेली मुलुकलाई चेतावनी दिए ।
उनका अनुसार अमेरिकी नेतृत्वमा भएको शान्ति पहलअन्तर्गत दुवै पक्ष कैदी आदानप्रदानमा सहमत भएका छन् । तर, युक्रेनबाट त्यस विषयमा स्पष्ट प्रतिक्रिया नआएको उनको भनाइ थियो ।
“हामी अमेरिकाका राष्ट्रपतिले गरेको प्रस्तावमा युक्रेनी पक्षले प्रतिक्रिया दिने अपेक्षा गरिरहेका छौँ,” उनले भने, “दुर्भाग्यवश, अहिलेसम्म कुनै प्रस्ताव प्राप्त भएको छैन ।”
पुटिनले आफू भोलोदिमिर जेलेन्स्की सँग प्रत्यक्ष शान्ति वार्ताका लागि तयार रहेको बताउँदै स्थायी शान्ति सम्झौतापछि मात्र त्यसको सम्भावना रहने उल्लेख गरे ।
उनले इरानसँग सम्बन्धित युद्धको विषयमा पनि टिप्पणी गर्दै द्वन्द्व जतिसक्दो चाँडो अन्त्य हुनुपर्ने धारणा राखे । अन्यथा सबै पक्षले ठूलो क्षति बेहोर्नुपर्ने उनको चेतावनी थियो ।
एजेन्सी