प्रधानमन्त्री बालेन शाहले यतिबेला गृह मन्त्रालय पनि आफैंसँग राखेका छन्। सुदन गुरुङले राजीनामा दिएपछि उक्त जिम्मेवारी कसैलाई नदिएर शाहले आफैंसँग राखेका छन्। तर, उनलाई सफल बनाउने दायित्व पनि सोही मन्त्रालयको गहिरोसँग हुन्छ।
प्रधानमन्त्री बालेन शाह अब जनताको भारी बहुमतको नेता त बनेका छन्, तर सफल कसरी बन्न सक्लान्? यो मूल प्रश्न हो। यसका निम्ति उनलाई गृह मन्त्रालयले सघाउनुपर्ने खाँचो हुन्छ। किनभने प्रधानमन्त्रीको सबैभन्दा भरयोग्य उत्तराधिकार गृह मन्त्रालयको प्राधिकारमा हुन्छ। त्यसैले उसले गर्नुपर्ने अनेक गुह्य काम छन्। त्यसभित्रका सहायक त धेरै छन् तर प्रमुख कामबारे मन्थन अनिवार्य छ। नेपालको राजनीतिमा जेनजी विद्रोह’को जगमा उभिएको वर्तमान सरकारले केवल सत्ता परिवर्तनको मात्र होइन, एउटा गहिरो प्रणालीगत सुधारको अपेक्षा बोकेको छ।
प्रधानमन्त्री बालेन शाहको नेतृत्वलाई सफल बनाउन गृह मन्त्रालयको भूमिका मेरुदण्ड सरह हुन्छ। आन्तरिक सुरक्षा मजबुत हुनु भनेको केवल अपराध नियन्त्रण हुनु मात्र होइन, बरु नागरिकले राज्यको उपस्थिति र न्यायको अनुभूति गर्नु हो। यसै सन्दर्भमा गृह मन्त्रालयले सुरक्षा अंग र जिल्ला प्रशासन मार्फत कसरी प्रभावकारी कार्य गर्न सक्छ भन्ने पनि प्रमुख विषय हो। प्रधानमन्त्रीको भिजनलाई कार्यान्वयन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई राजनीतिक हस्तक्षेपमुक्त र प्रविधिमैत्री बनाउनु अपरिहार्य छ।