ललितपुर । ललितपुर महानगरपालिकाले नेपालमै पहिलो पटक बीउ (सिड) एटिएम सञ्चालनमा आएको छ । सो बीउ एटिएमले शहरी क्षेत्रमा कौसी खेती प्रविधिको विकास, प्राङ्गारिक तरकारी उत्पादनमा जोड, हरेक घरबाट निस्कने फोहर मलका रुपमा प्रयोग, ताजा र स्वस्थ तरकारी तथा फलफूल उत्पादनमा वृद्धि गराउने भएको छ ।
ललितपुर महानगरपालिका अनुसार सो प्रविधिको प्रयोग गरी बीउबिजन खरीद गर्दा हरेक नागरिकले मेशिनमा रहेको प्रेस बटन दबाई, इच्छाएको बीउको किसिमलाई बालीको फोटोमा छनोट गरेर त्यसमा देखिएको मूल्य बराबर नयाँ नोट रु २०, ५० र एक सय छिराउनुपर्ने हुन्छ। ललितपुरमा यस प्रविधिको व्यवस्था भएसँगै गुणस्तरीय बीउबिजनको माग, मूल्यमा देखिएको असन्तुलन र करेसाबारी खेतीमा जोड, सघन खेतीका साथै वातावरणमा फाइदा पुग्ने छ ।
महानगरले सो प्रविधिको फाइदा र बेफाइदाका विषयमा एक महिना अध्ययन गरी त्यसमा कुनै खराबी नपाए २९ वटै वडामा सेवा विस्तार गर्ने योजना अघि सारेको छ । हाल ललितपुरमा ४२ हजार ६०० किसान कृषिमा आधारित छन् । गतवर्ष महानगरपालिकामा नौ हजार टन तरकारी उत्पादन गरी रु ४५ करोड मूल्य बराबरको बजारबाट हासिल गरेको थियो । महानगरले यस आर्थिक वर्ष्भित्र त्यहाँ रहेका ६०० भन्दा बढी प्लास्टिक टनेलबाट उत्पादित अर्गा्निक उपजलाई बजारमा बिक्री–वितरणका लागि ल्याउन एक प्राङ्गारिक बजार निर्माण गर्ने जानकारी गराएको छ ।