‘अर्थ–राजनीति पत्रकारिताको गतिशीलतामा छौं’
सर्वप्रथम पाठक, विज्ञापनदातामाझ हामी अमृतबजार साप्ताहिक १३ बर्ष पुगेको अवसरको जानकारी गराउन पाउँदा अति नै हर्षित छौं। चुनौतीका पहाड चिरेर हामी गतिशील अवस्थामा छौं।
सूचना प्रविधिको तीव्र विकास र सामाजिक सञ्जालको बढ्दो प्रभावले आज पत्रकारिताको परम्परागत परिभाषा बदलिएको छ। केवल सूचना सम्प्रेषण गर्नु मात्र अब पत्रकारिताको अन्तिम लक्ष्य रहेन। सत्यताको परीक्षण, गहिरो विश्लेषण र समाजप्रतिको जवाफदेहिता आजको मुख्य चुनौती बनेको छ। यस घडीमा हामीले आफूलाई आमूल परिवर्तन गर्दै विशेषगरी अर्थ–राजनीतिक पत्रकारितामा अझ बढी जिम्मेवार र व्यावसायिक बनाउने संकल्प गरेका छौँ।
राजनीति र अर्थतन्त्र एकै सिक्काका दुई पाटा हुन्। राजनीतिले नीति निर्माण गर्छ भने अर्थतन्त्रले त्यसको प्रतिफल जनताको चुल्होसम्म पु¥याउँछ। तर, विडम्बना! हाम्रो सन्दर्भमा राजनीतिक दाउपेच र नीतिगत भ्रष्टाचारले आर्थिक विकासलाई सधैँ छायामा पारेको छ। अबको हाम्रो पत्रकारिता सत्ताको वरपर मात्र घुम्ने छैन। हामी नीतिगत निर्णयहरूले अर्थतन्त्रमा पार्ने दीर्घकालीन प्रभाव, वैदेशिक ऋणको भार, र आम नागरिकको क्रयशक्तिमा आउने ह्रास जस्ता गम्भीर विषयमा तथ्याङ्कमा आधारित विश्लेषण प्रस्तुत गर्नेछौँ।
हाम्रो प्रतिवद्धता केवल ‘हेडलाइन’ बनाउनु मात्र होइन, बरु सत्ता र शक्तिमा रहेकाहरूलाई आर्थिक सुशासनप्रति उत्तरदायी बनाउनु हो। कसैको व्यक्तिगत स्वार्थका लागि गरिने नीतिगत चलखेललाई उजागर गर्नु हाम्रो प्राथमिक दायित्व हुनेछ। हामी विज्ञापनदाता वा राजनीतिक दबाबको प्रभावबाट मुक्त रहेर स्वतन्त्र र निष्पक्ष आर्थिक रिपोर्टिङलाई बलियो बनाउनेछौँ।
त्यसैगरी, अबको पत्रकारितामा ‘नम्बर’ र ‘न्यारेटिभ’ को सन्तुलन आवश्यक छ। हामी बजेटका अंकहरू मात्र होइन, ती अंकले गरिब र विपन्न वर्गको जीवनमा पार्ने वास्तविक प्रभावको खोजी गर्नेछौँ। डिजिटल युगको मागअनुसार द्रुत सूचना प्रवाह गर्दा हामीले शुद्धता र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने छैनौँ।
अन्ततः, पत्रकारिता लोकतन्त्रको पहरेदार मात्र होइन, यो समाजको ऐना पनि हो। अर्थ–राजनीतिक मुद्धाहरूमा हामीले देखाउने सजगताले नै मुलुकको समृद्धिको बाटो तय गर्न मद्दत पुग्नेछ। हामी अझ जिम्मेवार, अझ पारदर्शी र अझै जनमुखी पत्रकारिताको नयाँ मानक स्थापित गर्न प्रतिबद्ध छौँ। यो यात्रामा हाम्रा पाठक र शुभेच्छुकहरूको रचनात्मक सुझाव र आलोचना सधैँ हाम्रो प्रेरणाको स्रोत रहनेछ।