काठमाडौं साउन, २०–
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटघाट गरेका छन् ।
सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सोमबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउनुभयो । उहाँले दुई देशको सम्बन्ध एकअर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको धारणा राखे ।
तिमिल्सिनाले दुई देशबीच जनस्तरको सम्बन्धलाई मजबुद बनाउनका लागि पाकिस्तानले संस्कृति, स्वास्थ्य र शिक्षाको क्षेत्रमा गर्दै आएको सहयोग तथा सहकार्यका लागि धन्यवाद व्यक्त गरे ।
भेटमा पाकिस्तानका राजदूत जावेदले नेपाल र पाकिस्तानको सम्बन्ध कुटनीतिक सम्बन्ध स्थापित भएदेखि नै सुमधुर रहेको बताउनुभयो । ‘नेपालमा पनि सरकार र जनस्तरको सम्बन्ध बलियो बनाउन विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
भेटका क्रममा राजदूत जावेदले अध्यक्ष तिमिल्सिनालाई पाकिस्तान भ्रमण गरी दुई देशको संसदबीचको सम्बन्ध पनि सुमधुर बनाउन भूमिका खेल्न आग्रह गरे ।
सो अवसरमा राजदूत जावेदले पाकिस्तानले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसरमा यही साउन २९ गते अर्थात अगष्ट १५ तारिकका दिन काठमाडौंमा आयोजना गर्न लागेको एक समारोहको निमन्त्रणा समेत गरेका थिए ।