एजेन्सी । श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु भएको छ ।
साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ ।
विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ । राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु देखिएको छ भने कोलम्बो नजिकैको गाम्पाहामा तीन हजार र कालुतारामा दुई हजारभन्दा बढीमा यो रोग पाइएको छ ।
इपिडिमियोलोजी एकाईले देशका पाँच जिल्लामा डेङ्गुको सबैभन्दा ठूलो जोखिम देखिएको जनाएको छ । राजधानी कोलम्बो समेत गाम्पाहा, ग्याल्ले, कालुतारा र रत्नापुरामा डेङ्गुको सर्वाधिक संक्रमण छ ।
डेङ्गु लामखुट्टेबाट सर्ने रोग हो । स्वास्थ्यकर्मीहरुले स्थानीय मानिसहरुलाई उच्च ज्वरो आउने, बारम्बार वान्ता हुने, पेट दुख्ने, रिङ्गटा लाग्ने तथा पिसाब कम लाग्ने लक्षण देखिए तत्काल स्वास्थ्यकेन्द्रमा गई उपचार गर्न आग्रह गरेका छन् ।