काटमाडाैं । पहाड आगामी नयाँ वर्ष, विसं २०८३ वैशाख १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको यस चलचित्रले उच्च पहाडी क्षेत्रबाट युवाशक्ति विदेश पलायन हुँदा खाली बन्दै गएका बस्ती र त्यसले निम्त्याएको सामाजिक तथा आर्थिक असरलाई कथावस्तु बनाएको छ।
निर्देशक घिमिरेका अनुसार प्रदर्शन मिति वितरक तथा प्रदर्शकसँगको छलफलपछि तय गरिएको हो। उहाँले चलचित्रले मानव बसोबासविहीन बन्दै गएका पहाडको पीडा र देशप्रतिको दायित्वलाई उजागर गर्ने बताए। “दर्शकले पर्दामा आफ्नै कथा र आफ्नोपन महसुस गर्नुहुनेछ,” उनको भनाइ छ। नयाँ र पुरानो पुस्तालाई एकैसाथ समेटेर काम गर्न पाउँदा आफू उत्साहित रहेको उनले उल्लेख गरे
यसअघि ‘बलिदान’ र ‘चिनो’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका घिमिरेले समाजको तीतो यथार्थलाई कलामार्फत प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चलचित्रका निर्माता ओजस्वी केसी हुन् भने छायांकन प्रसिद्ध छायाकार प्रमोद प्रधानले गरेका छन् ।
चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र सलोना बज्राचार्यलगायत कलाकारको अभिनय रहेको छ। निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा डेब्यु गराउँदै छन् ।
प्राविधिकतर्फ निर्देशककी जेठी छोरी भावना घिमिरेले ‘प्रोडक्सन डिजाइनर’को जिम्मेवारी सम्हालेकी छन् भने संगीत रञ्जित गजमेरले दिएका छन्। नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउन लागेको ‘पहाड’ ले दर्शकमाझ कस्तो प्रभाव छोड्नेछ, त्यो भने प्रदर्शनपछि मात्रै स्पष्ट हुनेछ।