बागमती । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहौल तातेको छ। पुरानो राजनीतिक विरासत जोगाउने र नयाँ इतिहास रच्नेबीचको प्रतिस्पर्धाले यस क्षेत्रको चुनावलाई थप रोचक बनाएको छ।
यसपटक राजनीतिक दलहरू गठबन्धन नगरी एकल रूपमा मैदानमा उत्रिएपछि नतिजाबारे विभिन्न अड्कलबाजी हुन थालेका छन्। मकवानपुर–२ मा विभिन्न राजनीतिक दलका १६ जना र पाँच जना स्वतन्त्र गरी कुल २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
नेपाली कांग्रेसबाट बुद्ध लामा, नेकपा एमालेबाट महेशकुमार बर्ताैला, नेकपाबाट लवशेर बिष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रशान्त उप्रेती, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष बिष्ट, श्रम संस्कृति पार्टीबाट युनेश लामा सिङ्तान र उज्यालो नेपाल पार्टीबाट डा. प्रवीणकुमार स्याङ्तान उम्मेदवार छन्। यस्तै, नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेकपा (माओवादी) बाट राम घलान, जनता समाजवादी पार्टीबाट छविलाल वाइवा, मङ्गोल नेसनल अर्गनाइजेसनबाट हिरालाल स्याङ्तान र संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजाले उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा कृष्णराम श्रेष्ठ, रमेश आचार्य, प्रतीक्षा बानियाँ र अमृत बल मैदानमा छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट एमालेका महेशकुमार बर्ताैला निर्वाचित भएका थिए। यसपटक पनि एमालेले पुनः उनलाई उम्मेदवार बनाएको छ। कांग्रेसका उम्मेदवार बुद्ध लामा पार्टीको मकवानपुर जिल्ला सभापति हुन् भने राप्रपाका रामबहादुर थोकर दोस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। अन्य अधिकांश उम्मेदवार पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन्।
अघिल्लो निर्वाचनमा बर्ताैलाले ३४ हजार ९१६ मत ल्याएर विजय हासिल गरेका थिए। तत्कालीन नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले ३० हजार ३९६ मत, रास्वपाका भरत पराजुलीले १२ हजार ३९ मत र राप्रपाका राजन मैनालीले दुई हजार १९४ मत प्राप्त गरेका थिए।
उम्मेदवारी दर्ता भएसँगै उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर मतदाताको घरदैलोमा पुग्न थालेका छन्। यस निर्वाचन क्षेत्रमा हेटौँडा उपमहानगरपालिकाका चार वडा, थाहा नगरपालिका, राक्सिराङ, कैलाश, इन्द्रसरोवर, मनहरि, भीमफेदी र मकवानपुर गाउँपालिकाका दुई–दुई वडा समावेश छन्।
मकवानपुर–२ मा ८२ हजार ३३३ पुरुष र ७४ हजार ५६६ महिला गरी कुल एक लाख ५६ हजार ८९९ मतदाता छन्। १०५ मतदानस्थलमा १९६ मतदान केन्द्र रहेका छन्। भौगोलिक रूपमा विकट मानिने यस क्षेत्रमा चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको छ।
जनजाति बाहुल्य क्षेत्र भएकाले कांग्रेसले जातीय मत आकर्षित गर्ने रणनीतिसहित लामालाई उम्मेदवार बनाएको देखिन्छ। कम्युनिष्ट पार्टीको गढ मानिने यस क्षेत्रमा कांग्रेस अहिलेसम्म प्रतिनिधिसभा निर्वाचनमा विजयी हुन सकेको छैन।
एमाले उम्मेदवार बर्ताैलाले छोटो कार्यकालमै जिल्लाको समग्र विकासका लागि थुप्रै योजना ल्याएको र ती अधुरा योजनालाई पूरा गर्न पुनः जनताले आफूलाई जिताउने विश्वास व्यक्त गरे। कांग्रेसका उम्मेदवार लामाले आफू स्थानीय भएको र जनताको समस्या नजिकबाट बुझेको दाबी गर्दै विकासका एजेन्डासहित चुनाव जित्ने दाबी गरे ।
नेकपाका उम्मेदवार लवशेर बिष्टले नगरप्रमुख रहँदा गरेको विकास, सुशासन र पारदर्शिताको कामकै आधारमा मतदाताको समर्थन पाउने विश्वास व्यक्त गरेका छन्। यता, रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले पुराना दल र नेताबाट दिक्क भएका मतदाताले परिवर्तन र नयाँ अनुहार खोजिरहेकाले आफूलाई अवसर दिने दाबी गरेका छन् ।
फरक परिस्थिति र नयाँ राजनीतिक सन्दर्भमा हुन लागेको यस निर्वाचनले मकवानपुर–२ को नतिजा कुन दिशातर्फ जाने हो भन्ने चासो बढाएको छ।