काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालसम्म पनि भदौ २३ मा गोली चलाउन दिएको आदेशको बचाऊ गरिरहेका छन्। आफूले गोली चलाउन आदेश नदिएको दाबी गरेका उनले दोष जति प्रहरी र जिल्ला प्रशासन कार्यालयको थाप्लोमा राख्ने गरेका छन्।
जबकि, नैतिक रुपमा सरकारका तर्फबाट उनले जिम्मेवारी लिनुपर्ने तत्कालिन गृहमन्त्री रहेका रमेश लेखकको राजीनामाले पुष्टि गरेको छ। तर, कुनै पनि माफी या जिम्मेवारी नलिएका उनी अब फेरि फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन झापा–५ का उम्मेदवार बनेका छन्।
उनी एमालेका प्रस्तावित प्रधानमन्त्री पनि हुन्। कतिपयले जेनजी हत्याको नैतिक जिम्मेवारी नलिनेबाट आगामी सरकार गठन गरेर शासिन हुनु बाञ्छनीय नरहेको बताएका छन्।
एमाले ११औं महाधिवेशनमा पनि भदौ २४ को विध्वंशलाई देखाएर ‘ग्लोरिफाई’ गर्दै अध्यक्ष तथा अपदस्त प्रधानमन्त्री ओलीको देवत्वकरणको प्रयास गरिएको थियो। तर भदौ २४ किन र कसरी आयो भन्ने प्रश्नतिर एमालेजन फर्किन चहाँदैनन्। र, त्यसको चर्चा पनि गर्न चहाँदैनन्।
बाहलवाला प्रधानमन्त्री रहेका ओली सरकारले भदौ २३ गते काठमाडौंको बानेश्वरमा भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल प्रतिबन्धको बिरोधमा सडकमा उत्रिएका जेनजी विद्रोही मध्य १९ जनाको अन्धाधुन्ध गोली हान्न आदेश दिएको थियो।
यसबाहेक देशभर गरी कम्तिमा २३ जनाको गोली हानी राज्यले हत्या गरेको थियो। यसको नैतिक जिम्मेवारी अहिलेसम्म ओलीले लिएका छैनन्। जबकि, उनको मन्त्रिपरिषदमा गृहमन्त्री रहेका कांग्रेसका रमेश लेखकले नैतिक जिम्मेवारी लिएर सोही दिन राजीनामा गरेका थिए।
यसैको आक्रोशमा भदौ २४ गते देशभर आन्दोलन चर्कियो र ओली आफैं पनि जोगिनका लागि राजीनामा दिएर सेनाको हेलिकोप्टरमा भाग्नु परेको थियो। उनी सैनिक अड्डामा ११ दिन लुकेका थिए।
सार्वजनिक जीवनमा आएपछि ओली राजनीतिक रुपमा सक्रिय भए पनि हालसम्म पनि बालबालिका हत्याका विषयमा जिम्मेवारी लिने तहमा पुग्न सकेका छैनन् भने उनको पार्टीले पनि आत्मसमिक्षा गरेको छैन।
‘पार्टीमा समिक्षा पनि गरिएको छैन। जिम्मेवार पदाधिकारीले घटनाको विषयमा समिक्षा हुनुपर्ने बताइरहँदा ओलीले पेलेर गईरहेका छन्’, स्रोतले भन्यो।
पार्टीका उपमहासचिव योगेश भट्टराईलगायतका नेता भदौ २३ को घटनामा ओली जिम्मेवार हुनुपर्ने पक्षमा उभिएका छन्। यसैकारण पनि उनलाई फागुन २१ को चुनावमा उम्मेदवार नै नबनाएर ओलीले अर्को गैरजिम्मेवारीपन देखाएका छन्।