ढाका । बङ्गलादेशले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर भएपछि भारतलाई सुपुर्दगी गर्न माग गरेको छ। हसिनालाई नयाँदिल्लीले आश्रय दिएको बताइँदै आएको छ।
सन् २०२४ अगस्टमा भएको जनविद्रोहका कारण पदच्युत ७८ वर्षीया हसिना भागेर भारतको राजधानी नयाँदिल्ली पुगेकी थिइन्। अहिले पनि उनी भारतको कुनै शहरमा भएको अनुमान गरिएको छ। भारतले उनलाई सहयोग र शरण दिएको विषयले दुई छिमेकीबीच तनाव सिर्जना गरेको छ।
गत वर्ष विद्यार्थी नेतृत्वमा भएको विद्रोह विरुद्धको दमनमा दोषी ठहर गर्दै ढाकाको अदालतले हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो। बङ्गलादेशले दावी गरेको छ कि दुवै व्यक्ति भारतमा छन्।
बङ्गलादेशको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतसँग आग्रह गरेको छ, “यी दोषीलाई तत्काल बङ्गलादेशी अधिकारीहरूसमक्ष सुपुर्दगी गरियोस्।” साथै चेतावनी दिएको छ कि शरण दिनु न्यायको अपमान र अमैत्रीपूर्ण कदम हुनेछ।
भारतीय विदेश मन्त्रालयले हसिनाको फैसलामा ध्यान दिइरहेको जनाएको छ र “भारत शान्ति, लोकतन्त्र, समावेशिता र स्थिरता सहित बङ्गलादेशका जनताको सर्वोत्तम हितमा प्रतिबद्ध छ” भन्दै वक्तव्य जारी गरेको छ।
हसिनाको १५ वर्षे कार्यकालमा व्यापक मानवअधिकार उल्लङ्घन भएको थियो, जसमा राजनीतिक विरोधीको हिरासत र गैरन्यायिक हत्याहरू समावेश छन्। गत वर्ष बङ्गलादेशले उनलाई इन्टरपोलमार्फत ‘अत्यन्त खोजी’ सूचीमा राख्ने बताएको भए पनि अहिलेसम्म विश्वव्यापी प्रहरी निकायमा रेकर्ड दर्ता भएको छैन।
अन्तरिम सरकारका नेता मोहम्मद युनुसले अदालतको फैसलालाई ऐतिहासिक निर्णयको रूपमा स्वागत गर्दै शान्ति कायम गर्न सबैलाई अनुशासनहीन गतिविधिबाट टाढा रहन चेतावनी दिएका छन्।
एजेन्सी