काठमाडौं । जनकपुरविरूद्व काठमाडौंले नेपाल प्रिमियर लिग (एनपीएल)मा जित निकालेको छ। सोमबार सम्पन्न उद्घाटन खेलमा गोर्खाजले साबिक विजेता जनकपुर रोयल्सलाई ५ विकेटले पराजित गरेको हो ।
काठमाडौँका लागि बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रन जोडे। २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका उनले आक्रमक ब्याटिङसहित टोलीलाई सहज रन पूरा गर्ने वातावरण तयार गरे। आकाश त्रिपाठीले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए। मिलिन्दा कुमार १९ रनमा आउट भए भने भीम सार्की ३ रनमै पभेलियन फर्किए।
जनकपुरका किशोर महतो, ललितनारायण राजवंशी, जोन निकोल लोफ्टी–इटन र सञ्जय कृष्णमुर्तिले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रनको मध्यम योगफल बनाएको थियो। ओपनर आसिफ शेखले उत्कृष्ट ५४ रन जोडे। ४१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै उनले यस संस्करणको पहिलो अर्धशतक प्रहार गरेका हुन्।
मध्यक्रम धरमराएपछि जनकपुर दबाबमा परेको थियो। तर, मयन यादवले उपयोगी रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।
काठमाडौँका मिलिन्दा कुमार बलिङमा चम्किए। उनले ४ ओभरमा मात्र १५ रन खर्चिँदै ३ विकेट लिए। शहाब आलम र सन्तोष यादवले समान एक–एक विकेट जोडे।