बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संयोजक र सहसंयोजक बाहेकका पद तथा समिति टुंगो लाग्न बाँकी नै छ : नेपाली कम्युनिष्ट पार्टी

शुक्रबार, कार्तिक २८ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा बढी वामपन्थी दल तथा समूहहरूको संयुक्त प्रयासम नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्माणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ।

पार्टीको केन्द्रीय कार्यालयले शुक्रबार जारी गरेको स्पष्टिकरणमा निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाइएका विवरणहरूबारे उत्पन्न भ्रम हटाउँदै एकीकरण अभियानलाई दृढतापूर्वक अगाडि बढाउन सबै पक्षलाई आह्वान गरेको छ।

सरकारले आगामी फागुन २१ गतेका लागि आम निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोगले कार्तिक ३० गतेभित्र दल दर्ता गरी प्रमाणपत्र लिनुपर्ने सूचना जारी गरेको थियो। यसक्रममा नेकपाले आयोगमा आवश्यक कागजातहरू बुझाए पनि केही विवरणहरूबारे भ्रम उत्पन्न भएको उल्लेख गर्दै पार्टीले स्पष्ट पार गरेको छ। पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणहरूबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ।’

वक्तव्यअनुसार, पार्टी संयोजक र सह–संयोजकबाहेकका सबै पद तथा समितिहरू आपसी सहमतिका आधारमा गठन हुनेछन्। यसका लागि आवश्यक गृहकार्य भइरहेको र एकीकृत पार्टीको केन्द्रीय समिति सहितका सबै संरचनाहरू पनि यही प्रक्रियाअनुसार टुंगो लाग्ने जनाइएको छ। निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको दबाबका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको थियो।

यसैबीच, कानुनअनुसार केन्द्रीय समितिमा एक तिहाइ महिलाको बाध्यात्मक समावेशीकरण गर्नुपर्ने प्रावधान पूरा गर्न केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भएका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम सोही सूचीमा थपेर महिलाको प्रतिशत पुर्याइएको स्पष्ट पारिएको छ। पार्टीले यो कुनै अलग संरचना नभई विघटनअनुसारको अस्थायी व्यवस्था मात्र भएको बताएको छ। वक्तव्यमा थप भनिएको छ, ‘यो कुनै अलग संरचना होइन। विधानअनुसार संरचना बनाउन बाँकी छ।’

नेकपाको केन्द्रीय कार्यालयले आयोगमा पेश गरिएको सूचीबारेका कुनै पनि भ्रममा नपरी एकीकरण अभियानका बाँकी कामहरू पूरा गर्न सबैमा हार्दिक अनुरोध गरेको छ। यसले वामपन्थी एकताको सन्दर्भमा राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह गरेको छ। निर्वाचन आयोगका अनुसार, दल दर्ताको अन्तिम मितिसम्म विभिन्न राजनीतिक दलहरूले आफ्ना कागजातहरू बुझाइरहेका छन्, जसले आगामी निर्वाचनको तयारीलाई थप रोचक बनाएको छ।

यो एकीकरण प्रक्रिया सफल भएमा नेपाली राजनीतिमा ठूलो परिवर्तनको रूपमा लिइने अपेक्षा गरिएको छ। पार्टीका नेताहरूले यसलाई वामपन्थी शक्तिको मजबुत एकताको रूपमा व्याख्या गर्दै आएका छन्।