बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एआईजी दानबहादुर कार्की नेपाल प्रहरीका नयाँ महानिरीक्षक

सोमबार, कार्तिक २४ २०८२

काठमाडौं  ।  नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। सरकारले एआईजी दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो, भन्ने जानकारी सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले दिनुभयो।

कार्की हालसम्म काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए।

वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीअनुसारको ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेदेखि अवकाशमा जाने भएकाले सरकारले त्यसअघि नै नयाँ महानिरीक्षक नियुक्त गरेको हो।

गत २४ भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि, २३ भदौमा उपत्यकामा एआईजीविहीन अवस्था रहँदा सुरक्षाको चुनौती थियो।

उनी यसअघि प्रहरी प्रधान कार्यालयमा मानव स्रोत साधन विभाग प्रमुख, लुम्बिनी प्रदेशमा डिआइजीको रूपमा कमाण्डर, र काठमाडौं प्रहरी परिसरका एसएसपी भएर पनि काम गरिसकेका छन्।

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान चल्दा उनले काठमाडौं जिल्लाको कमाण्ड सम्हालेका थिए। कठिन र चुनौतीपूर्ण जिम्मेवारीमा सफल भएर काम गरेका कार्की इमानदार र निस्वार्थ प्रहरी अधिकृतका रूपमा परिचित छन्।

फिल्डदेखि आईजीपी सचिवालयसम्मको अनुभव, विभिन्न अन्तर्राष्ट्रिय तालिमहरूमा सहभागिता, र नेपाल प्रहरीको प्रवक्ताको रूपमा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्।