काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वामपन्थी राजनीतिक दलबीच पार्टी एकताका लागि १८ बुँदे सहमति भएको छ।
सहमतिमा सहभागी दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी–समाजवादी), नेकपा (साम्यवादी) र नेकपा रहेका छन्।
यो सहमतिको माध्यमबाट माओवादी केन्द्रले सात अन्य कम्युनिस्ट दलसँग मिलेर नयाँ एकीकृत पार्टी गठन गर्ने तयारी गरेको हो। यससँगै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादको सट्टा माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अगाडि सारेका छन्।
सहमति पत्रमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।
यो सहमतिसँगै माओवादी केन्द्रले आफ्नो ३२ वर्ष लामो इतिहासमा पहिलोपटक माओवादको मूल सिद्धान्त त्यागेको छ।
२०५० सालमा स्थापना भई २०५२ सालमा सशस्त्र जनयुद्ध सुरु गरेको माओवादी केन्द्रले १२ वर्षको संघर्षपछि प्रतिस्पर्धात्मक राजनीतिमा प्रवेश गरेको थियो।
अब भने पार्टीले माओवाद परित्याग गर्दै माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गरेको हो।
त्यस्तै, माओवादी केन्द्रले लामो समयदेखि प्रयोग गर्दै आएको गोलाकारभित्रको हँसिया–हथौडाअंकित निर्वाचन चिह्न पनि परित्याग गरेको छ।
नयाँ एकीकृत पार्टीले नाम तोकिसकेको छैन, तर पाँचकुने तारालाई नयाँ निर्वाचन चिह्नका रूपमा तय गरेको छ।
३२ वर्षपछि प्रचण्डले माओवाद छाडेका छन् भने ३३ वर्षपछि माधवकुमार नेपालले पनि आफ्नो पार्टीको मूल विचार ‘जनताको बहुदलीय जनवाद (जबज)’ परित्याग गरेका छन्।
२०४९ सालमा भएको नेकपा (एमाले)को पाँचौं महाधिवेशनले जबजलाई रणनीतिक कार्यक्रमका रूपमा स्वीकृत गरेको थियो, र त्यसैलाई माधव नेपाल नेतृत्वले निरन्तरता दिँदै आएको थियो।
अब भने, माओवादी र समाजवादी दुबै धाराले पुराना वैचारिक सिद्धान्तहरू छोडी नयाँ वाम एकताको साझा वैचारिक रूपान्तरण थालेका छन्।
सहमति अनुसार, नयाँ पार्टीको सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहनेछ भने कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ हुने उल्लेख छ।
एकीकृत पार्टीले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ।
केही समयदेखि प्रचण्डले पनि माओवादी नाम र पुरानो संरचना मात्र पर्याप्त नभएको भन्दै पार्टीको पुनःसंरचना र नाम परिवर्तनका लागि तयारी गर्न आग्रह गर्दै आएका थिए।
गत वर्षै उनले केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनका लागि खुला रूपमा निर्देशन दिएका थिए।