बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसभित्र महाधिवेशन विवाद चर्कियो

डा. कोइरालाले गरे दुई महामन्त्रीसहित सँग छलफल

शुक्रबार, कार्तिक १४ २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशनको विषयलाई लिएर तीव्र मतभेद चर्किएको छ।

पार्टीको संस्थापन पक्ष आगामी निर्वाचनमा केन्द्रित रहँदै चुनावअघि महाधिवेशन सम्भव नहुने निष्कर्षमा पुगेको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने मंसिरभित्र नै विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्।

सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले निर्वाचनको तयारीलाई प्राथमिकता दिँदै महाधिवेशन अहिले सम्भव नभएको तर्क गरेका छन्। संस्थापन पक्षका नेता डा. शेखर कोइराला ले भने नियमित महाधिवेशन नै उत्तम विकल्प भएको बताएका छन्।

असोज २८ देखि सुरु भएर ३० गतेदेखि छलफलमा प्रवेश गरेको कांग्रेसको केन्द्रीय समिति बैठक १२ दिनका लागि स्थगित भएपछि दुबै पक्षले आफ्ना रणनीति तीव्र बनाएका छन्। यस अवधिमा संस्थापन पक्षले तीनपटक आन्तरिक बैठक गर्दै चुनावपछि मात्र महाधिवेशन गर्ने निष्कर्ष निकालेको छ।

केन्द्रीय सदस्य गुरु बरालका अनुसार मंसिरबाट चुनावी कार्यतालिका सुरु गरी निर्वाचनपछि मात्र महाधिवेशन गर्ने राय बैठकमा साझा रहेको छ।

यसबीच, सभापति देउवासँग नजिकका नेताहरूको भेटघाटपछि संस्थापन पक्षको एकता झनै मजबुत बनेको देखिएको छ।

त्यस्तै, नेता डा. शेखर कोइरालाले आज बिहान विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डेसँग भेट गरी पार्टीभित्रको गतिरोध अन्त्य र नियमित महाधिवेशनको कार्यतालिका तय गर्ने विषयमा छलफल गरेका छन्।

महाधिवेशनको विषयमा सहमति नजुट्दा महामन्त्री गगनथापा ले पछिल्लो केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए, जसले कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि झनै सतहमा ल्याएको छ। महामन्त्री थापाले मंसिरभित्रै १५ औं महाधिवेशन गर्न सकिने दुई विकल्प सहित केन्द्रीय समितिमा पेश गर्ने तयारीमा थिए ।