काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्य समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा महाधिवेशनबारे विशेष छलफल हुनेछ । साथै पार्टी निर्वाचनमा जाने की संसद पुनःस्थापनाको पक्षमा उभिने भन्ने पनि निर्णय गर्ने बताइएको छ । दशैँपछिबाट शुरु भएको केन्द्रिय समितिको बैठक तिहार र छठका कारण आजलाई सरेको थियो । नेताहरुले नियमित महाधिवेशन हुनुपर्ने र त्यो हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग गर्दै आएका छन् ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले ५४ प्रतिशत गत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित नियमित महाधिवेशनको माग राखेका छन् ।
तर संस्थापन पक्षधरले भने मिति सकिसकेका महाधिवेशन प्रतिनिधिको कुनै अर्थ नरहने बताउँदै आएका छन् । पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर गएको अवस्थामा पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।
सभापति देउवालाई गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सांघातिक आक्रमण भएको थियो ।