मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नैतिक प्रश्नको कसीमा माधव

सोमबार, भाद्र १६ २०८२

काठमाडौं । सँधैभरी अरुलाई पद लोलुपताको आरोप लगाउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफैं नैतिक प्रश्नको कसीमा उभिन बाध्य भएका छन्।

उक्त पार्टीका सम्मानित नेता झलनाथ खनालसम्मले भ्रष्टाचार अभियोगमा परेपछि अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग बैठकमा राखेका थिए।

तर, न त उनले अध्यक्ष पदबाट राजीनामा दिएका छन् न त संसदीय दलको नेताबाट। राजनीतिमा पदको महत्व हो कि लोलुपता भन्ने प्रश्न गम्भिर बनिरहेका बेला नेपालले सांसद पद निलम्बनमा परे पनि संसदीय दलको नेता छाडेका छैनन्।

उनी दुवै पद ओगटेर विशेष अदालतमा हाजिरी गर्न धाउँछन्। शुक्रबार पनि अदालतमा उपस्थित भएका थिए।

‘माधव नेपालमा देखिएको यो राजनीतिक रोग हो’, राजनीतिक विश्लेषक भन्छन्,‘अदालतले निर्दोष गरे सांसद पद आइ हाल्छ अनि संसदीय दलको नेतामा उक्लिए भैहाल्यो नि?’

तर राजनीतिमा पद छाड्न सहज नमान्नुको कारण शक्ति रहनु रहेको ब्याख्या गरिन्छ।

वारेस राखेर मुद्दा लड्न पाउनुपर्ने उनको माग अदालतले साउन दोस्रो साता अस्वीकार गरिदिएपछि उनी आफैँ अदालत हाजिर भएका हुन्।

अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार नेता नेपाल असोज १ गतेका लागि अर्को तारेख लिएर फर्किएका छन्।

नेता नेपाल नेतृत्वको सरकारले कानुन विपरीत पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ। त्यससँगै उनको सांसद पद निलम्बित भएको छ। तर पार्टी अध्यक्ष र संसदीय दलको नेता उनले छाडेका छैनन्।

उनको दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार नाघेको भन्दै राजनीतिक प्रतिशोध साँध्न मुद्दा लगाइएको निर्णय सार्वजनिक गरेको थियो।

‘तर पछाडिका कारण के छन् भन्ने आम मानिसले खोतल्दैन’, राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल भन्छन्, ‘त्यसैले कुनै पनि नेतामाथि त्यस्तो आरोप लाग्दा छानबिनलाई सहज बनाउने गरी उसले पद छाडेन भने त्यसको नकारात्मक प्रभाव उसको छवि मात्र नभई पार्टीलाई पनि पर्छ।’

नेकपा एकीकृत समाजवादीको केही साताअघिको पार्टी पदाधिकारीहरू सम्मिलित सचिवालयको बैठकमा भ्रष्टाचारको मुद्दा दर्ता भएपछिको परिस्थितिबारे छलफल भयो।

बैठकमा नेता नेपाललाई नैतिकताको आधारमा राजीनामा दिन उक्त पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिखित सुझाव दिएका थिए।

बाँकी सबै नेताले राजीनामा दिन नहुने सुझाव दिएको उपाध्यक्ष गङ्गालाल तुलाधरले जानकारी दिए। उनका अनुसार बैठकमा नेता नेपालले नै ‘म छोडौँ कि कसो गरौँ’ भनेका थिए।

अनैतिक काम नगरेको भन्दै अध्यक्ष नेपालले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने खाँचो पनि नरहेको स्थायी कमिटी सदस्य रामचन्द्र झाको दाबी छ।

नेकपामा रहेका बेला तत्कालिन अध्यक्ष केपी शर्मा ओलीलाई यीनै नेपालले बारम्बार राजीनामा माग गर्दै आएका थिए। खासगरी प्रतिनिधि सभा विघटनको विषयलाई लिएर राजीनामा होइन पद छोडाउनका लागि आन्दोलनको मोर्चादेखि माइतिघरको सडकमा पलेटी मारेर बस्नेमा नेपाल पनि अगाडि थिए।

‘राजनीतिमा आफूले मात्र नैतिकताको खोजी गर्ने होइन, देखाउन पनि सक्नुपर्छ’, एक नेता भन्छन्,‘षडयन्त्र भनेर कहाँ नैतिक प्रश्नबाट उम्किन पाइन्छ?’