कैलाली । पश्चिम तराईमा बसोबास गर्ने थारू समुदायले दिदीबहिनीको दीर्घायु र मंगलकामनाका लागि दाजुभाइले व्रत बस्ने मौलिक पर्व अटवारी आज विशेष आस्था र उत्साहका साथ मनाइरहेका छन्।
माघीपछिको दोस्रो ठूलो पर्वका रूपमा लिइने अटवारी हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार मनाइन्छ। आइतबारकै दिन पर्ने भएकाले यसलाई अटवारी नाम दिइएको हो।
अटवारी पर्वको कथा महाभारतसँग जोडिएको छ। परम्पराअनुसार, पाण्डव अज्ञातवासमा रहँदा भीमले आफ्नो दाजुभाइ र परिवारको रक्षा गर्न आइतबारको दिन पानीसम्म नखाई व्रत बसेका थिए। सोही व्रतको प्रभावले उनलाई अपार शक्ति प्राप्त भएको विश्वास गरिन्छ। यही कथामाथि आधारित भई आजसम्म अटवारी पर्व निराहार व्रतका साथ मनाइँदै आएको हो। यस दिन सूर्यको विशेष पूजा गर्ने परम्परा पनि छ।
शनिबार राति व्रत बस्नेले भन्सरीया भात नामक विशेष भोजन खाने चलन छ। आइतबार बिहान स्नान गरी पूजापाठपछि दिनभर निराहार बसिन्छ। यस दिन अन्दीको चामलको रोटी, फुलौरी, केरा, काँक्रो, अम्बा, दही तथा गेडागुडीका परिकार पकाउने परम्परा छ।
अटवारीको विशेष सांस्कृतिक पक्ष अग्रासन हो। व्रत खोल्नुअघि पकाइएका सबै परिकारबाट एक–एक अंश छुट्याएर विवाहित र अविवाहित दिदीबहिनीको नाममा राखिन्छ। यसलाई अग्रासन भनिन्छ, जुन दिदीबहिनीप्रतिको सम्मान र मायाको प्रतीक मानिन्छ। अग्रासन नछुट्याएसम्म व्रत बस्नेले केही पनि खान पाउँदैनन्।
सोमबार बिहान पुनः स्नान गरी पूजा गरेपछि व्रत खोलिन्छ। त्यसपछि दाजुभाइहरूले दिदीबहिनीलाई अग्रासन र अन्य कोसेलीसहित घरमै पुगेर दिने चलन छ। दिदीबहिनीले आशीर्वाद दिने र दाजुभाइले ल्याएको प्रसाद ग्रहण गर्ने प्रथा छ, जसले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।
अटवारी पर्वले थारू समुदायमा पारिवारिक सम्बन्धलाई मजबुत बनाउने मात्र होइन, सामाजिक एकता र सामुदायिक भावनालाई पनि बलियो बनाउँछ।
यो पर्व विशेषगरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत र दाङलगायत जिल्लामा धुमधामका साथ मनाइन्छ। पर्वको महत्वलाई सम्मान गर्दै सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। यसअघि साउन २५ गते बिदा तोकिएको भए पनि तिथी फरक परेकाले थारू समुदायको आग्रहअनुसार मिति परिमार्जन गरिएको हो।