बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पप्पु कन्स्ट्रक्सनले बदमासी गरेको ठहर, कारबाही गर्न सिफारिस

शुक्रबार, जेष्ठ ३१ २०७६

काठमाडौं जेठ, ३१–
संसदीय समितिले  पप्पु कन्स्ट्रक्सनले बदमासी गरेको ठहर गरेको छ । संसदको  विकास समितिले पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सिफारिस गरेको हो । 

पप्पुले २०७१ सालमा तीनकुने पुल निर्माणका लागि  ठेक्का लिए पनि निर्धारित समयमा  काम गर्न नसकेको हो । विकास समितिको टोलीले स्थलगत अध्ययन गरेर पप्पुको बदमासी पत्ता लगाएको हो । पप्पुले सो पुल निर्माणका लागि   २१ करोड ३३ हजारमा ठेक्का लिएको थियो ।

अरनिको राजमार्गको तीनकुनेस्थित बाग्मती नदी (कोटेश्वरतर्फ जाँदा) को बायाँतर्फ निर्र्माण भइरहेको पुलको लम्बाई ८६ मि. र चौडाई १७.२० मि. रहेको छ । कूल २९.५ मिटर गहिरो (लम्बाई)का १६ वटा १ हजार २०० का पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको थियो ।

तर, निर्माण व्यवसायीले एउटा पाइल्स १६.५ मिटरको मात्र निर्माण गरेको र २ वटा पाइल्स भाँच्चिएको पाइएको छ । प्राविधिक परीक्षणबाट देखिएको आयोजना सम्बद्ध कर्मचारीले जानकारी दिएका थिए ।

तीनकुनेको पुल २०७४ असार ५ गतेसम्म सक्ने गरी काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र पप्पु कन्स्ट्रक्सन विच सम्झौता भएको थियो । हालसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने पुल निर्माण नै रोकेर विवादमा तानिएको विकास समितिको प्रतिवेदनमा उल्लेख छ ।

समितिको यहि वैशाख १९ गतेको निर्णय अनुसार सभापति कल्याणी खड्काको नेतृत्वमा जेठ २ गते सो पुलको अवलोकन भएको थियो ।

सो पुलमा देखिएको समस्या समाधानको लागि सडक विस्तार आयोजनाले तत्काल इन्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरि परिमार्जित डिजाइन प्राप्त गरी सोही अनुसार निर्माणको काम अगाडी बढाउने व्यवस्था मिलाउन समितिले सुझाव दिएको छ ।