मकवानपुर जेठ, ३१–
कांग्रेसका युवा नेता प्रदीप पौडेलले गुठी विधेयकले प्राचीन संस्कृति तथा सम्पदामा गम्भीर हमला गर्ने भएकाले तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । शुक्रबार हटौंडामा पत्रकारसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेलले गुठी विधेयकले गणतन्त्र ल्याउन ठूलो योगदान दिएका राजधानीका नेवार समुदायको भावनमा गम्भीर कुठाराघात हुने बताएका हुन् ।
उनले भने, ‘गुठी विधेयक विरुद्धको आन्दोलनले सरकार ढल्ने भन्दा पनि सरकारको गलत रवैयाका कारण वर्तमान संविधानमै बुहसंख्यकको अनास्था उत्पन्न हुने चिन्ता बढेको छ ।’
नेता पौडेलले गुठीलाई सामन्तवादको स्वरुप भन्ने सरकारी प्रवक्ताको अभिव्यक्तिको जवाफ दिदैँ विगतका घटनाक्रमहरु स्मरण गराउँदै सांस्कृतिक क्षेत्रमा अनावश्यक हस्तक्षेप नगर्न चेतावनी समेत दिए ।
दुई तिहाईको वर्तमान सरकार दिनप्रतिदिन निरिह हुँदै गएको उनको भनाइ थियो । उनले प्रश्न गरे, ‘यातायात भाडा वृद्धिको निर्णयमा पाँच घण्टा पनि टिक्न नसक्ने सरकारबाट जनताले के अपेक्षा गर्ने ?’ राजपत्रमा प्रकाशित भइसकेको सार्वजनिक खरिद नियमावलीलाई केही हप्तामै संशोधन गरेर सरकारले आफूलाई अत्यन्त कमजोर प्रमाणित गरेको उनको भनाइ थियो । उनले अन्त कही पनि एकपटक राजपत्रमा प्रकाशित भएको नियमावली यति छिटो संशोधन नभएको उदाहरण दिए । नेता पौडेलले भने ‘सरकार चलाउनु भाँडाकुटी खेल्नु होईन ।’