काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा अब संशोधिन विधानबारे छलफल हुनेछ।
खासगरी ७० बर्षको उमेरहद हटाइएको, दुई कार्यकालको सीमालाई हटाइएको र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता पेन्डिङमा रहेको भन्ने विषय पोलिटब्यूरोबाट केन्द्रीय समितिमा पुगेको हो।
एमाले भदौ २० देखि २२ गतेसम्म ललितपुरमा विधान महाधिवेशन गर्न गैरहेको छ। त्यसको पूर्वसन्ध्यामा भण्डारीको सक्रिय राजनीतिको विषयले अध्यक्ष केपी शर्मा ओलीको टाउको दुख्न थालेको छ।
१५ बर्षसम्म ‘लाज पचाएर नेतृत्व’ गर्दा पनि नपुगेका माधव नेपाल भन्दै गाली गर्ने ओली उति नै समयका लागि विधानमा छेडखानी मात्र गरिरहेका छैनन्, प्रतिस्पर्धामा आउन सक्ने देखेर भण्डारीलाई छिर्के लगाइरहेका छन्।
नेकपा एमालेभित्र कायम रहेको नेता कार्यकर्ताको ठूलो उकुसमुकुस ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका कारणले विस्फोटको चरणमा पुगेको छ। सचिवालयको बैठकमा भएका केही निर्णय र पोलिटब्यूरोमा देखाइएका हर्कतका कारण अब एमाले बिभाजन या बिसर्जनको अवस्थामा पुग्न सक्ने मार्गचित्र कोरिएको पनि टिप्पणी हुन थालेका छन्।
ओलीको सामाजिक राजनीतिक अलोकप्रियता, पार्टीभित्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जस्तो अनन्तकालसम्म नेतृत्वमा रहने प्रवृत्ति र महत्वकांक्षाको उर्बरता र नेतृत्व हस्तान्तरण गर्न नचाहने ढिट प्रकट नै यसको मुख्य कारण देखिने पक्कापक्की छ।
आन्तरिक राजनीतिमा पनि जसरी प्रतिस्पर्धाबाट ओलीको लोकप्रिय उदय भएको थियो, उनको बहिर्गमन या अवतरण निक्कै अलोकप्रिय हुने संकेत देखा परेको हो।
ओलीले पोलिटब्यूरो बैठकमा भण्डारीका पक्षमा नभई विधानका विषयमा प्रष्ट बनाउन खोज्ने, प्रश्न सोध्न खोज्नेको मुख टाल्ने र महासचिव पोखरेलमार्फत बन्द गराउन खोज्न नियत प्रकट गरेका थिए।
त्यसअघि सचिवालयको बैठकमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग मुखामुख र पदाधिकारी घटाउने एकल निर्णय गरेर विधान महाधिवेशनमा जाने निधो गरेका छन्।
यति मात्र होइन बाहलवाला राष्ट्रपति रहेकी विद्यादेवी भण्डारीसँग तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिँदा ‘त्यो पर्दैन’ भनी त्यस गरिमालाई होच्याएका ओलीले अहिले उनलाई पार्टीमा सक्रिय हुन खोज्दा आउन पर्दैन भनी बाटो छेकेका छन्।
लिगेसीका हिसाबले भन्ने हो भने पनि विद्यादेवी भण्डारी एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादको आधिकारिक उत्तराधिकारी हुन्। तर, प्रक्रियागत हिसाबमा आउन खोज्दा ओलीले रोक्न खोजिरहेका छन्।
ओलीले यसअघि नै पार्टीमा उनीसँग प्रतिस्पर्धा गर्न सक्ने सबैलाई निकालिसकेका छन्। एक हदसम्म उनले अनन्तकालसम्म पार्टीको नेतृत्वमा बस्ने नियतमा पार्टी कब्जा गर्न खोजेको भान हुन्छ भने ओलीलाई उचाल्ने महासचिव पोखरेललगायत उपमहासचिव विष्णु रिमालले सानो घेराभित्र हालीमुहाली मच्चाउने परोक्ष स्वार्थ हुर्काइरहेका छन्।
नेकपा विभाजनपछि एमाले सम्हाल्नुपर्नेमा ओलीले प्रतिस्पर्धी देखेका माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलाई लखेटे। त्यसपछि १०औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका भिम रावललाई कारबाही गरिदिए। अहिले अध्यक्षका लागि तयार रहेको भनी पार्टीमा फर्किएको घोषणा गरेकी भण्डारीलाई बाटो छेकिरहेका छन्।
पछिल्लो चरणमा यहि विवादले एमालेभित्र नयाँ समीकरण छुट्टिन लागेको छ। ओलीले एमालेलाई निजी दलका रुपमा चलाउन खोजेको प्रतीत हुन्छ। जसमा महासचिव पोखरेल र उपमहासचिव रिमालले सिधा काँध थापिरहेका छन्।