बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपामा एकता टुंगो लगाउन सकस, जिम्मेवारी बाँडफाँटमा लफडा सुरु

आइतबार, जेष्ठ १९ २०७६

काठमाडौं जेठ, १९–
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकताको बाँकी काम टुंगो लगाउन शीर्ष नेता तयारीमा जुटेका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकता टुंगो लगाएको नेकपामा अहिले जिम्मेवारी बाँडफाँटमा लफडा सुरु भएको छ । पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभाग गठन अझै टुंगो लागेको छैन् । जिल्ला इन्चार्ज, सहइन्चार्ज र विभागको नेतृत्व टुंगो लगाउने विषयमा पार्टीभित्र विवाद देखिएको छ ।

३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण भएको थियो । महत्वपूर्ण एवं जटिल काम टुंगो लागे पनि विभाग, स्थानीय तह, पोलिटब्युरो कमिटी तथा केन्द्रीय सदस्यको कार्य विभाजन गर्न सकस भएको छ ।

पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजनसहित संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचारप्रसार विभाग र आर्थिक विभागमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा शीर्ष नेताबीचमै विवाद छ ।

पोलिटब्युरो गठनसहित जिम्मेवारी बाँडफाँट गर्ने भनेर आज (आइतबार) बोलाइएको सचिवालय बैठक तयारी नपुगेका कारण स्थगित भएको छ । नेकपा स्रोतका अनुसार शीर्ष नेताहरुकै बीचमा कुरो मिलाउन बाँकी छ । आइतबारको बैठक स्थगित गरी सोमबार सचिवालय बैठक बोलाइएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच जिम्मेवारी बाँडफाँटका विषयमा छलफल जारी छ । शीर्ष नेताबीच सहमति भएपछि सचिवालय बैठक सोमबार बस्ने र त्यही बैठकबाट टुंगो लाग्ने एक नेताले बताए ।

७७ वटै जिल्लाको अध्यक्ष र सचिव टुंगो लागे पनि इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउनमा शीर्ष नेतृत्वबीच रसाकस्सी चलिरहेको नेकपा स्रोतको दाबी छ ।

नवगठित नेकपाको नौ सदस्यीय सचिवालयमा नयाँ समीकरण बनेसँगै कार्य विभाजनमा ढिलाइ भएको छ । सचिवालयमा एकातिर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र रामबहादुर थापा छन् भने अर्कातिर अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् ।

दाहाल गुट परिवर्तन गर्दै पछिलो समय थापा ओली खेमामा पुगेपछि ओलीले उनलाई संगठन विभाग प्रमुख बनाउनुपर्ने पक्षमा उभिएका छन् । तर, संसदीय निर्वाचनमा पराजित र सरकारी जिम्मेवारीविहीन वामदेव गौतमलाई नेपाल र दाहालले संगठन विभाग प्रमुख दिनुपर्ने अडान लिएका छन् ।

गौतम केही समय पहिलेसम्म ओली खेमामै थिए । तर, पछिल्लो समय थापा जस्तै उनी पनि नेपाल र दाहाल खेममा पुगेका छन् । थापा गृहमन्त्रीसमेत भएकाले संगठन विभागका लागि गौतम उपयुक्त रहेको दाबी नेपाल र दाहाल समूहको छ । यसैगरी, स्कुल विभागका लागि ओली समूहबाट ईश्वर पोखरेल तथा नेपाल र दाहाल समूहबाट श्रेष्ठलाई अघि सारिएको छ । प्रचार विभागमा प्रवक्ता श्रेष्ठसँगै योगेश भट्टराई र पम्फा भुसाल दाबेदार छन् ।

विदेश विभागको प्रमुख माधवकुमार नेपाललाई बनाउन ओलीसहित शीर्ष नेता सहमत छन् । विदेश विभागको नेतृत्वमा विवाद देखिएको छैन । अर्का वरिष्ठ नेता खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिनुपर्ने नेपाल पक्षको माग छ । महासचिवसमेत रहेका पौडेललाई महत्वपूर्ण विभाग दिनुपर्ने ओली समूहको अडान छ ।

नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनका लागि तत्कालीन एमालेका तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट नामावली टुंगो लाग्न नसक्दा ढिलाइ भएको छ ।

नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी छन् । पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् १ सय ४७ जनाको पोलिटब्युरो कमिटी बनाउनुपर्छ । जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति शीर्ष नेताबीच भएको थियो ।