मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

एक सय १३ प्रतिशतले बढ्यो डिजिटल बैंकिङ कारोबार

हालसम्म पाँच सय ३३ खर्ब ३२ अर्बको कारोबार

सोमबार, असार २ २०८२

काठमाडौं । देशव्यापीरुपमा पुगेको इन्टरेनटको पहुँचले पछिल्लो समय मुलुकमा डिजिटल बैंकिङ कारोबार गर्नैहरुको संख्या निकै नैं बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार डिजिटल माध्यमबाट हुने कारोबार विस्तारको क्रममा रहेको हो । मोबाइल बैंकिङ, क्युआर, डिजिटल वालेट लगायतका शीघ्र भुक्तानीका उपकरणहरुको दायरा पनि फराकिलो हुँदै गएको छ । सोही आधारमा चालु आर्थिक बर्षको पछिल्लो नौं महिनामा रियल टाईन ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) मार्फत भएको कारोबार रकम अघिल्लो वर्षको सोही अवधिको दुई सय ५० खर्ब २७ अर्ब ७५ करोड (कारोबार संख्या पाँच लाख ८२ हजार) को तुलनामा एक सय १३ दशमलव नौं प्रतिशतले बढेर पाँच सय ३३ खर्ब ३२ अर्ब २८ करोड (कारोबार संख्या छ लाख ८ हजार) पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैकले शोधनान्तर बचतका कारण मौद्रिक विस्तार मौद्रिक नीतिमा प्रक्षपण गरिएका हाराहारीमा रहन गएको पनि जानकारी दिएको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ चैतमा विस्तृत मुद्राप्रदाय ११ दशमलव छ प्रतिशतले वृद्धि भएको छ । २०८० चैतमा विस्तृत मुद्राप्रदाय १२ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । बैंक तथा वित्तीय संस्थाहरु बीचको भारित औसत अन्तरबक दर २०८१ चैतमा तीन प्रतिशत रहेको छ । २०८० चैतमा भारित औसत अन्तरबैंक दर तीन दशमलव १० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१÷८२ को घ नेपाल राष्ट्र बैंक चैतसम्ममा बोलकबोलमार्फत २२ खर्ब १२ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फत एक सय ४९ खर्ब ७४ अर्ब १० करोड गरी कुल एक सय ७१ खर्ब ८६ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ । त्यसैगरी, ओभरनाइट तरलता सुविधावापत दुई अर्ब ७० करोड उपभोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक नीतिका विभिन्न उपकरणमार्फत खुद सात सय ६६ अर्ब १९ करोड तरलता प्रशोचन भएको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ तीन सय ६१ अर्ब ३ करोड (सात दशमलव एक प्रतिशत) कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ दुई सय २२ अर्ब २१ करोड (चार दशमलव छ प्रतिशत) कर्जा प्रवाह भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तीन सय ६८ अर्ब ४७ करोड (पाँच दशमलव सात प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप चार सय नौं अर्ब चार करोड (सात दशमलव दुई प्रतिशत) ले बढेको थियो । २०८० चैतमा आठ दशमलव ५१ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ चैतमा छ दशमलव २९ प्रतिशतमा झरेको छ । त्यसैगरी, २०८० चैतमा छ दशमलव ५३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर २०८१ चैतमा चार दशमलव ४५ प्रतिशतमा झरेको छ । २०८० चैतमा १० दशमलव ५५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०८१ चैतमा आठ दशमलव २२ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको निस्कृय कर्जा अनुुपात २०८० चैतमा तीन दशमलव ९८ प्रतिशत रहेकोमा २०८१ चैतमा पाँच दशमलव २४ प्रतिशत पुगेको छ । २०८१ चैतमा वाणिज्य बैंकको पाँच दशमलव पाँच प्रतिशत, विकास बैंकको पाँच दशमलव ५६ प्रतिशत र फाईनान्स कम्पनीको १३ दशमलव चार प्रतिशत निष्वृmय कर्जा अनुपात रहेको छ । २०८० चैतमा वाणिज्य बैंकको तीन दशमलव ८९ प्रतिशत, विकास बैंकको तीन दशमलव ६३ प्रतिशत र फाईनान्स कम्पनीको १० दशमलव ४० प्रतिशत निस्कृय कर्जा अनुपात रहेको थियो । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा राष्ट्र बैंकबाट तीन अर्ब ६३ करोड अमेरिकी डलर खुद खरिदमार्फत चार सय ८४ अर्ब ७१ करोड खुद तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा चार अर्ब २६ करोड अमेरिकी डलर खरिदमार्फत पाँच सय ६६ अर्ब ५५ करोड खुद तरलता प्रवाह भएको राष्ट्र बैंकको भनाई छ।