मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

पाँच वर्षमा एनओसीबिना ६५ हजार भारतीय नागरिक तेस्रो मुलुक, सबैभन्दा बढी रविकै पालामा !

मंगलबार, जेष्ठ २७ २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट विगत लामो समयदेखि भारतीय नागरिकहरू ‘नो अब्जेक्सन लेटर’ (एनओसी)बिना नै तेस्रो मुलुक जाने गरेको तथ्य खुलेको छ।

भिजिट भिसा दुरुपयोग प्रकरण चलिरहेको बेला सुन तस्करीमा संलग्न भारतीय नागरिक तेस्रो मुलुक पठाएको घट्नासँगै लामो समयदेखि एनओसीबिना जाने गरेको तथ्य फेला परेको हो।

रामबहादुर थापा, बालकृष्ण खाँण, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने तथा रमेश लेखकको पालामा ६५ हजारभन्दा माथि भारतीय नागरिकले नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक गएको देखिन्छ। उनीहरू सबैको पालमा दैनिक ८ देखि ५८ जना अध्यागमनबाट बाहिरिएका छन्। रवि लामिछानेले गृहमन्त्रालय छाडेपछि प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहालले आफैँसँग गृह राख्दा पनि ८२ जना भारतीय नागरिक तेस्रो मुलुक पुगेका छन्।

अध्यागमन विभाग स्रोतबाट प्राप्त तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुई पटक छोटो अवधिका लागि गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ८ हजार २७९ जना भारतीय नागरिक तेस्रो मुलुक गएको खुलेको छ। दोस्रो पटक रवि गृहमन्त्री भएका बेला चार महिनाको अवधिमा ७ हजार ४० जना भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गएको तथ्याङ्कले देखाएको छ।

रविको पहिलो कार्यकालमा दैनिक औसतमा ५८ जना भारतीय नागरिक विमानस्थलबाट तेस्रो मुलुक जाने गरेको अध्यागमन स्रोतले जनाएको छ।

पहिलो पटक अझ छोटो अवधिका लागि उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीमा रहेका रविको पालामा दैनिक औसतमा ३८ जना भारतीय नागरिकलाई विमानस्थलबाट तेस्रो मुलुक गएको देखिन्छ। रविको पहिलो कार्यकालको एक महिना २ दिनको अवधिमा १२ सय ३९ जना भारतीयहरू तेस्रो मुलुक गएको देखिन्छ।

स्रोतका अनुसार रविको पालामा सबैभन्दा बढी भारतीयहरू नो अब्जेक्सन लेटर (एनओसी)बिना नै तेस्रो मुलुक गएका थिए। तेस्रो मुलुकमा जाने भारतीयहरू कतार, कुवेत, दुबई, हङकङ, मलेसिया, चीन, थाइल्याड र श्रीलंका लगायतका मुलुकमा जाने गरेको पाइएको अध्यागमन विभाग स्रोतबाट प्राप्त तथ्याङ्कले देखाएको छ।

-नागरिक दैनिकबाट