काठमाडौं । लामो समयपछि परिवारसहित राजा ज्ञानेन्द्र शाह नारायणहिटी परिसरमा प्रवेश गरेका छन्। नाती हृदयेन्द्रसहित नारायणहिटी परिसरमा रहेको मन्दीरमा पूजा अर्चना गर्न छिरेका ज्ञानेन्द्रको यस पटकको प्रवेश भने अर्थपूर्ण र ब्याख्यात्मक छ।
राजावादी दल र संगठनले जेठ १५ गते निर्णायक आन्दोलन गर्ने घोषणाको सन्दर्भ मिलाएर ज्ञानेन्द्रको परिवारसहितको प्रवेशलाई अर्थपूर्ण मानिन्छ।
कतिपय विश्लेषक भन्छन्,‘राजावादी दल र संगठनले आन्दोलन घोषणा गरेको सन्दर्भमा परिवारसहित नारायणहिटी छिरेका राजा ज्ञानेन्द्र शाहले दिन खोजेको सन्देश सांकेतिक हुन सक्छ।’
यसअघि ज्ञानेन्द्रको नारायणहिटी प्रवेश र गणतन्त्रपछि गद्दी त्यागलाई पनि अनेक हिसाबले स्मरण गर्न थालिएको छ।
राजा वीरेन्द्रको वंशनास भएपछि ज्ञानेन्द्र महाराजगञ्जको निर्मल निवासबाट नारायणहिटीमा सरेका थिए। त्यहींबाट उनले राजकाजमा हात हाले। प्रधानमन्त्रीमा गिरिजाप्रसाद कोइरालाको राजीनामा लिएर सुरु भएको उनको राजकाज गरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा शपथ दिलाएपछि अन्त्य भयो।
त्यसवीचमा उनले शेरबहादुर देउवालाई दुई पटक प्रधानमन्त्रीको शपथ दिलाए, लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए। अन्तिममा आफू मन्त्रिपरिषद्को अध्यक्ष बने, तुल्सी गिरी र किर्तिनिधी विष्टलाई उपाध्यक्ष बनाएर सक्रिय शासन पनि चलाए।
पछिल्लोपटक जब गिरिजाप्रसाद कोइराला ११ दिनको दोस्रो जनआन्दोलनपछि राजा ज्ञानेन्द्रसँग प्रधानमन्त्रीको शपथ लिएर नारायणहिटीबाट सिंहदरवार पुगे।
उनैले सिंहदरवारबाट नारायणहिटीमा रहेका राजा ज्ञानेन्द्रको अधिकार पनि कटौती गर्न थाले। १५ जेठ २०६५ मा जब संविधानसभाको पहिलो बैठकले राजाका पूरै अधिकार कटौती गरेको घोषणा गर्यो, त्यही दिन ज्ञानेन्द्रको सरकारी अड्डा र निवास समेत भएको नारायणहिटी दरवार राष्ट्रियकरण पनि गरियो।
नारायणहिटीलाई राष्ट्रियकरण गरेपछि ज्ञानेन्द्रले समेत त्यसलाई सहज स्वीकार गरे। उनले दरवार राष्ट्रियकरण गरेको दुई सातापछि २९ जेठमा गरेको पत्रकार सम्मेलनमा भने, जनताको चाहना, इच्छालाई सर्वोपरी मान्ने राजपरम्परा अनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु।
अनि ज्ञानेन्द्रले भनेका थिए…
नारायणहिटी छाड्ने मात्रै होइन्, १५ मिनेट लामो लिखित मन्त्व्यबाट ज्ञानेन्द्रले वीरेन्द्रको वंशनाशमा आफूमाथि लागेको आरोपको पहिलोपटक खुला खण्डन समेत गरे।
उनले भने, २०५८ साल जेठ १९ गते राती अकल्पनीय, त्रासदीपूर्ण घट्ना राजदरवारमा घट्दा मेरो पूजनीय दाजु भाउजु लगायत आफ्ना आत्मीय परिवारको विभत्स विनाश भएको र ती आदरणीय परिवारको शवमा आँसु बगाएर मन हलुका पार्ने मौका समेत पाउन नसक्ने परम्परा र कर्तव्यको जन्जिरमा बाँच्न विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन।
उनले खण्डन गर्दै भने, यसै अवस्था र घटनालाई लिएर कतिले अत्यन्त निर्दयितापूर्वक म र मेरो परिवारमाथि लगाएको कठोर आरोप र लाञ्छनालाई हामीले सहनुवाहेक न त कुनै उपाय नै थियो, न त हाम्रोतर्फबाट बोलिदिने कोही थिए। तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन र म र मेरो परिवारप्रति पूर्वाग्रही भै विभिन्न माध्यमबाट बदनाम गर्ने काम निरन्तर भैरह्यो। जुन मेरा लागि अति दुखदायी थियो र छ पनि।
जब राजालाई नागरिक बनाइयो। त्यतिबेला ज्ञानेन्द्र विदेश भाग्ने हल्लाले बजार पिटेको थियो। त्यसको समेत उनले पत्रकार सम्मेलनबाट खण्डन गरे। उनले भने, मैले देश छाडेर जाने सोच बनाएको छैन्। म मातृभूमि नेपालमै बसी मुलुकको वृहतर हित र शान्तिका लागि योगदान पु¥याउन चाहन्छु।
राजा ज्ञानेन्द्रसँग विदेशमा बेहिसाव दौलत छ भनेर गरिएको हल्लाको पनि उनले खण्डन गरे। उनले भने मेरो विदेशमा कुनै सम्पत्ति छैन्, जे जति छ नेपालमै छ। कानुन अनुसार पूर्वजबाट आएको परम्परागत सम्पत्ति संरक्षण गरेर राखेको छु, घटाएको छैन्। उनले भने, कानुन अनुसार राख्न पाउने निजी सम्पत्ति मैले जोडेको पनि छैन्।
उनले पत्रकार सम्मेलनको अन्तिमतिर भने, परम्परागत रुपमा शाहवंशीय राजाबाट प्रयोग भै शाहवंशको विरासतको रुपमा रहेको श्रीपेच र राजदण्ड चिरकालप्रयत्न सुरक्षित रुपमा राख्ने गरी संरक्षणका लागि आजैका मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्त्रण गरेको छु।
नारायणहिटी दरवार छाड्न तयार ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्ड भने उनी आफैले लैजान चाहेका थिए। उनले त्यसका लागि गृहमन्त्री कृष्ण सिटौलासँग सहयोग समेत मागेका थिए। नारायणहिटीबाट सौहार्दपूर्ण तरिकाले ज्ञानेन्द्रलाई विदा गर्ने विषयमा छलफलका लागि सिटौला एक दिन सरकारी कर्मचारी लिएर नारायणहिटी पुगेका थिए।
ज्ञानेन्द्रले सिटौलासँग भने, आज संविधानसभाले हाम्रो वंश परम्पराको अन्त्य गरेको छ। त्यो निर्णय मान्छु। हाम्रो वंशले उहिल्यैदेखि पहिरिँदै आएको राजमुकुट र राजदण्ड हामीसँग भए हाम्रा सन्तानले त्यसलाई सुरक्षित राख्ने थिए। वंशको चिनो पनि हो, राणाहरूले २००७ सालमा शासन ढलेपछि राजमुकुट लिएर गए। हामीले पनि पाउँछौँ होला नि!’
सिटौलाले जवाफमा भने, ’त्यो राष्ट्रको संग्रहालयमा सम्पत्तिको रुपमा सुरक्षित रहन्छ। राणाहरूले लगे, बेचे कि खाए? थाहा छैन। तर अब हिजोको राजसंस्थाको सबै चिज यहाँहरूको निजी विषय रहँदैनन्। सिंगो देशको इतिहासको विषय रहन्छ। राजमुकुट लगेर यहाँहरूले आफ्नो खोपीमा राख्नु र त्यो राजमुकुट हेर्न चाहने देश–विदेशका मान्छेलाई देखाउनुमा, देखाउनुले जित्छ।’ सिटौलाको प्रतिक्रियापछि ज्ञानेन्द्रले कुनै प्रतिवाद गरेनन्।
सिटौला ज्ञानेन्द्रलाई भेट्न मुख्यसचिव र गृहसचिव लिएर नारायणहिटी दरवार पुगेका थिए। दरवारमा काम गर्ने सचिवहरू पनि बैठकमा सहभागी थिए। तर गम्भीर मुद्रामा रहेका ज्ञानेन्द्रले सिटौलासँग एक्लाएक्लै वार्ता गर्न प्रस्ताव गरे।
त्यसपछि सिटौला र ज्ञानेन्द्रवीच ५० मिनेट लामो वार्ता भयो। वार्तामा ज्ञानेन्द्रले आमा रत्न र सरलालाई नारायणहिटी भित्रै बस्न दिन प्रस्ताव गरे। सिटौलाले पनि वृद्धाअवस्थामा उहाँहरूलाई कति ठाउँ कुदाउने भन्दै त्यसका लागि क्याविनेट लैजाने प्रस्ताव गरे।
नारायणहिटीभित्रको महिन्द्र मञ्जिल जहाँ अहिले पनि दरवारको एक्लो प्रतिनिधिका रुपमा रत्न बस्दै आएकि छन्।
रत्नको बासपछि ज्ञानेन्द्रको बासको कुरा उठ्यो। अन्तिममा ज्ञानेन्द्रले सोधे, अहिले तोकिएको दिनभित्र म कहाँ जाऊँ?’ सिटौलाले जवाफमा भने, ‘निर्मल निवास जानुहोस्। राणाकालीन दरबार समेत राष्ट्रियकरण भैसकेका छन्। नागार्जुनमा बस्नका लागि सबै व्यवस्था सरकारले गर्ने भैसकेको छ। त्यसबाहेक यहाँले रोजेको कुनै ठाउँ, कुनै घर, दरबार भए भन्नुहोला। म कुरा लैजान्छु र यहाँको चाहाना पूरा गर्न हरसम्भव प्रयास गर्छु।’