काठमाडौं जेठ, ५–
चालु आर्थिक बर्ष २०७५—०७६ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २१ दसमलव छ प्रतिशतले बढेर नौ खर्ब ९१ अर्ब ८१ करोड पुगेको छ । नेपाल राष्ट्र बैकले आज आईतबार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी पछिल्लो नौ महिनाको प्रतिवेदन अनुसार यस अवधिमा निर्यात–आयात अनुपात छ दशमलव छ प्रतिशत कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात छ दशमलव आठ प्रतिशत रहेको थियो । चालु आव २०७५—०७६ को नौ महिनामा कुल वस्तु निर्यात १६ दशमलव नौ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ दशमलव दुई प्रतिशतले वृद्धि भएकोे थियो । गन्तव्यका आधारमा भारततर्फ २८ दशमलव नौ प्रतिशत र अन्य मुलुकतर्फ तीन प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २५ दशमलव सात प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
चालु आवको नौ महिनामा कुल वस्तु आयात २१ दशमलव तीन प्रतिशतले बढेर १० खर्ब ६१ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २० दसमलव पाँच प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १९ दशमलव दुई प्रतिशत, चीनबाट भएको आयात ३५ दशमलव तीन प्रतिशत र अन्य मुलुकबाट भएको आयात १९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, विद्युतीय सामग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका ठूला भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएकोे छ ।