बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रेसमाथि आक्रमण गर्ने ओली सरकारको नीति कांग्रेसलाई अमान्य: उपसभापति निधि

मंगलबार, बैशाख ३१ २०७६

जनकपुर वैशाख, ३१–
 कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकार वर्तमान ओली सरकार ज्ञानेन्द्र पथमा हिँडेको आरोप लगाएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले जसरी सत्ता हत्याउनका लागि प्रेसमाथि आक्रमण गरेका थिए वर्तमान सरकारको पनि तरिका उस्तै भएको उपसभापति निधिले प्रष्ट पारे । 
मंगलबार गृहजिल्ला धनुषाको जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उपसभापति निधिले  सरकारले मिडिया काउन्सिल मार्फत प्रेस जगतमाथि अंकुश लगाउन खोजेको भन्दै उक्त विधेयक तत्काल फिर्ता गर्न माग गरे । 
 प्रेस काउन्सिललाई खारेज गरेर मिडिया काउन्सिलमार्फत मिडियालाई नियन्त्रण गर्न खोजिनु निन्दनीय भएको नेता निधिको भनाइ छ । 

उनले मिडिया काउन्सिल गठन गरी मन्त्रालयको शाखा कार्यालयको रुपमा परिणत गर्न खोजिएको बताए । 

 प्रेस जगतको स्वतन्त्रता माथि आक्रमण गर्नु लोकतन्त्रमाथिको पनि आक्रमण भएको भन्दै उपसभापति निधिले तत्काल मिडिया काउन्सिल सम्बन्धि विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए । 

  मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १ करोड रुपैयाँ सम्म जरिवाना तथा १५ वर्षसम्मको जेल सजायको व्यवस्था राख्नुले सरकार अधिनायकवादको बाटोमा हिँडिरहेको प्रष्ट भएको उपसभापति निधिले दावी गरे । 
निधिले सरकारले संचार जगतसंगै सम्बन्धित विज्ञापन सम्बन्धि ऐन, सूचना प्रविधिसम्बन्धी ऐन, सार्वजनिक प्रसारण सम्बन्धी ऐन समेत ल्याउनु गलत रहेको बताए । 
उनले कांग्रेसले प्रेस स्वतन्त्रताका लागि पत्रकारहरुले गर्ने हरेक आन्दोलनमा सक्रियपूर्वक साथ दिने प्रष्ट बताए ।