बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खच्चडमा औषधि बोकेर विशेषज्ञ डाक्टरको टोली रुकुमका दुर्गम वस्तीमा

सोमबार, बैशाख ३० २०७६

रुकुम वैशाख, ३०–
रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका–८ मा अहिलेसम्म सडक सुुविधा पुगेको छैन । यहाँका स्थानीय सडक सञ्जालमा जोडिएको क्षेत्र पुग्न एक दिनको पैदलयात्रा गर्न बाध्य छन् । भौगोलिक विकटताका कारण यस क्षेत्रका नागरिक गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट समेत वञ्जित भएका छन् तर, आइतबार उक्त क्षेत्रमा खच्चडमा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली पुग्यो ।

पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँको रिवाङचौर स्वास्थ्यचौकीमा डाक्टरसहितको टोली पुग्दा स्थानीय दङ्गै परे । राम्रो स्वास्थ्य सेवाको लागि गाउँमा सुविधासम्पन्न अस्पताल नभएको र टाढाको अस्पतालसम्म पुग्न नसकेको बेलामा घोडामा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली गाउँमा पुग्दा राम्रो स्वास्थ्य सेवा पाउने भयौँ भन्दै स्थानीय खुशी भए । भौगोलिक विकटताका कारण पछि परेको यस क्षेत्रमा सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै स्थानीय रमा झाँक्रीले खुशी व्यक्त गरिन् ।

 

शिविरमा विशेषज्ञ डाक्टर नवीन बुढाथोकी र सुनिल पुनलगायतको टोलीले सेवा दिने बताइएको छ । शिविरमा भिडियो एक्सरे, ल्याब परीक्षण, इसिजी सेवा तथा निःशुल्क औषधि वितरण गरिने अस्पतालका प्रबन्धक हरिबोल भारतीले बताए । साथै शिविरमा ज्वरो, आउने, टाउको दुख्नेलगायत अन्य रोगको पनि जाँच गर्ने र जटिल प्रकृतिका रोगका बिरामीलाई जिल्ला बाहिर पठाइने उनले बताए । शिविरमा आउने प्रायः महिला, वृद्धवृद्धा रहेका छन् ।

लाजका कारण ग्रामीण भेगका कतिपय नागरिक रोग लुकाएर बस्ने गरेको र तीनै समस्यालाई निर्मूल पार्न स्वास्थ्य शिविरको आयोजना गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता लीलामणि गौतमले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर ५ को कार्यालय बुटवल, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको आर्थिक सहयोग, रुक्मेली सामुदायिक अस्पताल प्रालि रुकुम ९पश्चिम० को आर्थिक सहयोग र गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टरको टोलीद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालिएको हो । शिविरको उद्घाटन गर्दै गर्दासम्म २१२ ले नाम दर्ता गरिसकेको अस्पतालका प्रबन्धक भारतीले बताए ।
जिल्लाका विकट गाउँमा अहिले पनि यातायातको साधनको रुपमा खच्चडलाई नै प्रयोग गर्ने गरिएको छ तर, दुर्गम क्षेत्रमा खच्चडमार्फत् औषधि ढुवानी गरी नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत् सेवा दिएको जिल्लामै यो पहिलोपटक भएको कार्यक्रम सहजकर्ता गौतमले बताए ।