बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दक्षिणपन्थीको उदय सम्भव छ

सोमबार, बैशाख २२ २०८२

विश्व राजनीतिमा दक्षिणपन्थी शक्तिको उदय अमेरिकादेखि अनेक मुलुकमा चुनावमा अनुमोदनका साथ हुन थालेको छ। नेपालमा पनि दक्षिणपन्थी शक्तिको आन्दोलन चलिरहँदा यसको कसी कस्तो रहन्छ भन्ने विमर्श भैरहेका छन्। कुनै पनि समाज बिनाकारण अवसान हुँदैन तर विनाशकको प्रतीक्षामा बसिरहेको हुन्छ। कुनै मूर्ख व्यक्ति वा त्यस्तो समाज जसले आफ्ना पुराना गल्ती बिर्सन्छ, त्यसबाटै समाज विनाशतर्फ धकेलिन्छ। प्लेटोले आफ्नो प्रसिद्ध कृति ‘रिपब्लिक’मा ‘लोकतन्त्र अन्ततः आफै अन्त्यतिर अघि बढ्छ, जब मानिसहरू स्वतन्त्रतालाई उच्छृंखलता ठान्न थाल्छन् र एक सर्वशक्तिशाली नेता खोज्न थाल्छन्’ भनी चेतावनी दिएका थिए। जर्मन दार्शनिक हेगेलले भनेका थिए, ‘इतिहास आफै दोहोरिन्छः पहिलोचोटि त्रासदीको रूपमा, दोस्रोचोटि प्रहसनको रूपमा।’ ट्रम्पको पहिलो कार्यकाल एउटा गम्भीर त्रासदी थियो, जसले अमेरिकी लोकतन्त्रको जग हल्लायो। तर उनको दोस्रो आगमन एक प्रहसनजस्तै लाग्छ– एउटा कठोर विडम्बना, जहाँ लोकतन्त्रले आफ्नै अस्तित्वमाथि प्रहार गरिरहेको छ र जनता त्यसलाई समर्थन गर्दै ताली बजाइरहेका छन्।

नेपाललगायत अन्य देशका लागि पनि एक गम्भीर सन्देश हो, जहाँ लोकतन्त्रको नाममा अराजकता, ध्रुवीकरण र अतिवादलाई प्रश्रय दिइँदै छ। अघिल्लो निर्वाचनमा पराजित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः अमेरिकी राष्ट्रपतिको रूपमा निर्वाचित भए। उनको नेतृत्वले पछिल्लो समय गरेका निर्णयले २१औँ शताब्दीमा १९औँ शताब्दीको प्रतिच्छाया देखिन थालेको छ। १९औँ शताब्दीको समय श्रमिकलाई मेसिनझैँ शोषण गरिन्थ्यो र सत्ता केवल धनाढ्यको हातमा सीमित रहन्थ्यो। ट्रम्प अहिले त्यही पुरानो, विभेदकारी र अत्याचारपूर्ण अमेरिकी समाजको पुनरुत्थान गरिरहेका छन्, जहाँ गरिब जनतालाई ‘अमेरिका फस्र्ट’का नारा देखाएर ढाँटिन्छ, तर वास्तविक लाभ ठूला कम्पनी र धनीवर्गको पोल्टामा पुग्छ। वर्तमान अमेरिका ट्रम्पको एक निरङ्कुश ‘औद्योगिक राजतन्त्र’मा परिणत भइसकेको छ, जहाँ न्यायपालिकादेखि सञ्चारमाध्यमसम्म सबै राज्यका अंग तानासाहको सनकमा निर्भर भएका छन्। इतिहासका अनुभवले के सिकाउँछ भने जब कुनै राष्ट्र वा समाज आफ्नै विचारबाट भाग्न थाल्छ, त्यो आत्म–विनाशतर्फ उन्मुख हुन्छ। १९औँ शताब्दीमा अमेरिकाले क्रान्तिको नाममा क्रूरता र लोकतन्त्रको नाममा दमनलाई जन्म दिएको थियो। अहिले ट्रम्प फेरि त्यही बाटोमा फर्केर अमेरिकालाई ’नयाँ साम्राज्यवादी नरक’तर्फ धकेलिरहेका छन्। ट्रम्पको दिमागमा कुनै नयाँ विचार छैन, केवल पुरानो संसारका खिया लागेका तस्वीर घुमिरहेका छन्। १९औँ शताब्दीमा अमेरिका आफूलाई जबरजस्ती विश्वभर फैलाउन खोजिरहेको थियो। पुँजीवादको आफ्नो नांगो नंग्राले संसार निचोर्दै थियो।

ट्रम्पले १९औँ शताब्दीका नायकको जयजयकार गर्नु फगत एक संयोग मात्र होइन, एउटा गहिरो विचारधारा हो, जसको माध्यमबाट उनी अमेरिकालाई फेरि त्यही लोभ, शोषण र अमानवीय शक्ति–सञ्चयतर्फ फर्काउन चाहन्छन्। इतिहासको सामान्य चेत भएकाहरूले राम्ररी बुझेका छन् कि त्यो युगमा युरोपबाट आएका गोराले अमेरिकी आदिवासीको भूमि हडपे, श्रमिकको रगत चुसे, र पुँजीका देवताको पूजा गर्दै मानवजीवनलाई बलि चढाए।

नेपालमा अहिले राजावादीको आन्दोलन चर्किनु पनि ट्रम्पको लयमा विश्व गएको त होइन भन्ने चर्चा सुरु भएको छ। भारतदेखि क्यानडासम्म दक्षिणपन्थीको उदयकाबीच अबको निर्वाचनमा जनताबाट अनुमोदन भएर नेपालमा पनि दक्षिणपन्थी शक्तिको उदयलाई निर्जिव राख्न मिल्दैन।