काठमाडौं वैशाख, २४–
कांग्रेस नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रममा नारै नारामात्रै रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैँ नेता सिंहले प्रधानमन्त्री ओली उखान टुक्कामा प्रसिद्ध भएको बताए । उनले सरकारले पेश गरेको नीति तथा कार्यक्रम कुनै विद्यालयको तेज विद्यार्थीले लेखेको निबन्ध भन्दा फरक नभएको प्रष्ट पारे ।
कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले भने, ‘एउटा कुनै हाईस्कुलको तेज विद्यार्थीलाई कक्षामा देश बनाउनको लागि के के गर्नुपर्छ भनेर निबन्ध लेखे जस्तो सरकारको नीति कार्यक्रम आएको छ, ।’
‘नीति कार्यक्रममा सबै छ । प्रधानमन्त्री सवै विषयमा जानकार हुनुहुन्छ । नीति तथा कार्यक्रमका हरेक पानामा इम्प्रेसनसहित नारै नारामात्रै छन् । तर नारा राम्रा भएर मात्रै के गर्ने ? ’ उनले प्रश्न गरे ।
काठमाडौँको धुलो नियन्त्रणको लागि ओली प्रधानमन्त्री भैसकेपछि संसदमा आएर माक्स लगाएको मान्छे देख्नपर्दैन भनेर बोलेको स्मरण गराउँदै सांसद सिंहले भने, ‘प्रधानमन्त्री, मन्त्रीहरुले मात्रै माक्स फुकाले पनि जनताले फुकाल्न पाएका छैनन् ।’