बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दुर्गा प्रसाईंको गिरफ्तारी

मंगलबार, बैशाख २ २०८२

राजावादी आन्दोलनको कमान्डर बनाइएका व्यावसायी दुर्गा प्रसाईंले यसै साता सरकारसामु गिरफ्तारी दिएका छन्। राजावादी आन्दोलन चर्काएका उनको कथन यो व्यवस्था परिवर्तनको माग थियो। केही हिंसात्मक घटनाको मुख्य आरोपि प्रसाईं बनाइएका छन्। उनलाई विविध अभियोग लगाउने तयारीअनुसार १२ दिन म्याद समेत थप भैसकेको छ। चुनावअघि नेपालका बामपन्थी शक्ति एक बनाउने दुर्गा प्रसाईंको हुटहुटी थिएन। उनको आवश्यक थियो सम्बन्धन नपाएको बीएन्डसी मेडिकल कलेजलाई प्राधिकार अनि बढी से बढी सिटमा डाक्टर पढाउन पाउनुपर्ने अधिकार। ०७४ को निर्वाचनको बेला हालका प्रधानमन्त्री केपी शर्मा ओली र मुख्य प्रतिपक्षी प्रचण्डलाई बीएन्डसीको संयुक्त उद्घाटन गर्न मात्र लगाएनन्, भक्तपुरको घरमा काँसको थालमा गाँस पनि खुवाएका थिए। मेडिकल कलेजले सम्बन्धन नपाएका बेला डा. गोविन्द केसीको आन्दोलनले व्यापकता पाएको थियो। त्यसबेला प्रचण्ड र ओली दबाबमा पनि थिए। यति मात्र होइन माओवादीको केन्द्रीय सदस्य, एमालेको केन्द्रीय सदस्यसहित उद्योग विभागको उपप्रमुखसम्मको जिम्मेवारी दिइएको थियो।

प्रचण्ड र ओलीले रोपेको विषबाट अमृत त फल्ने आशा लोकले गरेको थिएन। तर प्रचण्ड र ओली नै संकिर्ण भावका मनोवृत्ति भएका यस्ता पात्र हुन् जसको युगमा मुलुकले कहिले पनि शान्ति पाउने छैन भन्ने अब भरपूर विश्वास दिलाएको छ। किनकी एउटा प्रसाईंका बाबु, अर्का हजुरबा जो परे। यिनीहरुले प्रसाईंसँग लिनुसम्म लाभ लिएका हुन्। यसमा सही र सत्य नै छ। तर उखुको डाँक्लो जस्तो चुसेपछि अहिले प्रसाईंलाई खोस्टो बनाउने संकिर्ण सोच भएकाले देशको सत्ता र प्रतिपक्ष हाँकेपछि भविष्य के होला? त्योचाहिँ सोचनीय र विचरणीय छ। सङ्कीर्ण भावना भन्नाले मानिसको सोच, दृष्टिकोण र व्यवहार अत्यन्त सीमित, आत्मकेन्द्रित र असहिष्णु हुनु हो। यस्तो भावना भएका व्यक्ति प्रायः आफ्नो जात, धर्म, क्षेत्र, लिंग, भाषा वा विचारधारालाई मात्र ठिक ठान्छन् र अरूका विचार, संस्कार, वा पहिचानलाई स्वीकार गर्न सक्दैनन्। विश्वव्यापीकरण र बहुसांस्कृतिक समाजमा यस्तो सोचले व्यक्तिगत विकास मात्र होइन, सामाजिक समरसता र राष्ट्रिय एकतालाई पनि गम्भीर असर पार्दछ। सङ्कीर्ण भावना प्रायः अज्ञानता, असुरक्षा, पूर्वाग्रह, वा आत्मकेन्द्रित शिक्षाबाट उत्पन्न हुन्छ। जब व्यक्ति सानैदेखि एउटै ढाँचामा सोच्न सिकाइन्छ, जब उसले फरक विचार, धर्म वा संस्कृतिको सम्पर्कमा आउन पाउँदैन, तब उसको सोच सीमित बन्न जान्छ। यस्तो व्यक्तिले आफ्नो साँचो वा असाँचो विश्वासमा प्रश्न गर्न सक्दैन। जसले गर्दा सहिष्णुता, बहस, र विविधता स्वीकृत गर्ने क्षमताको अभाव हुन्छ।

प्रसाईंको गिरफ्तारी संकिर्ण सोचको परिणाम मात्र होइन सत्ता राजनीतिको फोहोरी खेल पनि हो। भलै उनको अगुवाईमा भएका अपराध भए तिनको छानबिन होला पनि। अहिलेका सत्ता र प्रतिपक्षीसँग यति राम्रो सोच राख्ने प्रसाईं किन यीनका बिरोधमा लागे? के उनी प्रतिशोध लिन चहान्थे र? होइन, अहिलेको व्यवस्थाले मुलुकको अवस्था परिवर्तन हुने सम्भावना नदेखेका कारण उनी एउटा अभियानमा सक्रिय भएका हुन्। यद्यपि प्रसाईंका निजी स्वार्थ यसमा लिप्त हुन सकेका होलान्?