काठमाडौं । भ्रष्टाचार, बेथितिदेखि दलीय अराजकता चरम विन्दुमा पुगेपछि राजावादी शक्तिले विशाल प्रदर्शन गर्दा दुई जनाको ज्यान जानेगरी हिंसात्मक प्रतिरोध भयो।
एक पत्रकारसहित सर्वसाधारणको मृत्यु हुनेगरी भएको राजसंस्थावादीको आन्दोलनको जिम्मेवारी सरकारले लिएको छैन भने गृहमन्त्री रमेश लेखकले त्यसको जिम्मा राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन्। यसले प्रष्ट पार्छ– एउटा ज्ञानेन्द्रसँग गणतन्त्र तर्सिएको छ।
राजावादी शक्ति शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने,‘विदेशीको इशारामा मुलुक सिध्याउन लागेपछि राजसंस्था अहिलेको अनिवार्यता हो।’
नेपाली कांग्रेसको पदाधिकारी बैठक बसी आन्दोलनको सबै जिम्मा राजा ज्ञानेन्द्रले लिनुपर्ने निर्णय गरेको थियो। काठमाडौं महानगरपालिकाले पनि तीनकुनेमा भएको क्षतीको जिम्मेवार राजालाई नै ठहर गरी जरिवाना तिराउने निर्णय लियो।
उता एमालेका विभिन्न पदाधिकारीसहितले राजसंस्थावादीको आन्दोलनबाट अत्तालिएर प्रहारयुक्त प्रचारबाजी गरिरहेका छन्। ‘प्रतिगमनको बाटोमा आन्दोलन जाने भयो, रोक्नका लागि एकजुट हुन आवश्यक छ’, उच्च स्रोतले भन्यो।
राजावादीको आन्दोलनबाट सबैभन्दा बढी त्रसित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल देखिए। उनीहरुको कार्यालयमा तोडफोड समेत भएको थियो।
यता शनिबार नेकपा एकीकृत समाजवादीले बैठक राखेको थियो। काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक थियो।
उक्त बैठकले तीनकुने, सिनामंगल, मीनभवन, बालकुमारी क्षेत्रमा राजावादीहरूले झन्डै पाँच घन्टा विध्वंस मच्चाउँदा त्यसलाई नियन्त्रण गर्न प्रहरी प्रशासन चुकेको निचोड निकालेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
‘बैठकमा हामीले तीनकुनेमा राजावादीहरूले देखाएको उग्रता, चरम अराजकता र विध्वंसबारे छलफल ग¥यौं। तीनकुनेमा व्यक्तिका घरमा आगो लगाएको छ। सञ्चारगृहमा आगो झोसिएको छ। छानीछानी पार्टी कार्यालय जलाइएको छ। तर प्रहरीले केही गर्न सकेको छैन। हाम्रो पार्टी कार्यालयमा गुण्डाहरू पसेर लुटपाट गरिरहेका छन्। पार्टीका कागजात सडकमा लैजाँदैछन्। आगजनीको प्रयास भइरहेको छ भनेर पार्टी अध्यक्षले नै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गर्नुभएको छ। मैले, प्रकाश ज्वाला, मोहन गौतमले पटकपटक फोन गरेका छौं। उहाँले मुभ भइसकेको भन्नु भयो। तर पार्टी कार्यालय जलिरह्यो,’ उनले भने।
उनले तीनकुनेमा दिनदहाडै पत्रकारमाथि आगो लगाइरहँदा सञ्चारगृह तोडफोड भइरहँदा, भाटभटेनी लुटिँदा प्रहरी संयन्त्रले त्यसलाई नियन्त्रण गर्न नसक्नुमा गृह प्रशासनकै कमजोरी छर्लंग हुने पार्टीको निष्कर्ष रहेको बताए।
शनिबार गृहमन्त्री रमेश लेखकसहित सुरक्षा अंगका अधिकारीहरू आलोकनगरस्थित पार्टी कार्यालय अवलोकनमा आएको र मन्त्री लेखकले घटनालाई आततायी र आपराधिक गतिविधिको संज्ञा दिएको उनले बताए।
‘तीनकुने घटना आततायी हो र आपराधिक गतिविधि हो भने त्यसमा संलग्नहरूलाई राज्यले त्यहीअनुसार व्यवहार गर्नुप¥यो भन्ने हाम्रो पार्टीको निष्कर्ष हो। प्रहरीसमेतलाई कुल्चने र नरसंहार गर्ने हेतु प्रहरीको डफ्फामाथि दुर्गा प्रसाईंले गाडी दौडाएको छ। उसैले आन्दोलनको कमान्डर हुँ भनेर छाती पिटेको छ।
राजावादीको आन्दोलनको नेतृत्व मैले लिएको छु भनेर नवराज सुवेदीले घोषणा गरेको हामीले सुनैकै हौं। कसले तिनीहरूलाई संयोजक र कमान्डर तोकेको हो? कसले भीडमा गाडी दौडाउन उक्साएको हो? व्यक्तिका सम्पत्तिमा आगजनी गर्न र पत्रकारलाई जिउँदै जलाउन कमान्डर तोक्ने को हो? बैठकले खोजबिन गर्न र तीउपर नेपालको कानुनले के कारबाही गर्न भन्छ, त्यहीअनुसार गर्न बैठकले आग्रह पनि गरेको छ,’ उनले भने उक्त दल शुक्रबार समाजवादी मोर्चाको कार्यक्रममा सहभागी भएको थियो भने अध्यक्ष माधवकुमार नेपालले राजसंस्था नफर्किने दाबी गरेका थिए। तर, उनको त्यो दाबीबीच राजावादी आन्दोलन चर्किएर उग्र रुप लिइसकेको थियो।