बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरीमा मनपरी राजनीतिक हस्तक्षेप, व्यावसायीक अधिकृत मारमा

मंगलबार, बैशाख १७ २०७६

 काठमाडौं वैशाख, १७–
पछिल्लो समय नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप व्यापक मौलाएको कारण व्यावसायीक अधिकृत मारमा परेका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

सरकारका मन्त्री, नेता र कर्मचारीले दुई तिहाईको दम्भ देखाउँदै प्रहरीमा मनपरी हस्तक्षेप गर्न थालेपछि व्यावसायीक प्रहरी अधिकृतहरु मारमा परेका हुन् ।

नेपाल प्रहरीमा आईजीपी सर्वेन्द्र खनालको बढुवासँगै दुई तिहाई सरकारले आफ्नो अनुकुल प्रहरीको सरुवा बढुवा गर्न थालेको हो । नियम कानुन नै संशोधन गर्दै सरकारले आफू निकटलाई सरुवा र बढुवा गर्न थालेका उदाहरण धेरै छन् ।

गत साता भएको प्रहरी नायब निरक्षक बाट निरक्षक बढुवा पनि राजनीतिक दलका चाकडी गर्ने र आर्थिक चलखेल भएको पुष्टि हुन्छ । गत साता भएको बढुवामा कारवाही भोगेका, निलम्बन भएका, नसिहत पाएका, हतियार बेचबिखनको आरोपमा कारवाही भोगेकाले बाजी मारेका छन् ।

२०६० मा बढुवा भएका र मास्टर डिग्री लिएर जागिर अबधि देखि एक पटक पनि स्पष्टिकरण नसोधिएका अधिकृतलाई नियतबस रुपमा छुटाईएको छ । नेपाल प्रहरीका आशा लाग्दा र संगठनले बिश्वास गरेका आईजीपी सर्वेन्द्र खनालले यस्ता कुरामा ध्यान नदिँदा र आफू निकटको बिश्वास गर्दा उनी संगठनभित्र आलोचित बन्दै गएका छन् ।

दुई महिना अगाडि भएको नेपाल प्रहरीको नायब निरक्षक बढुवा होस् वा गत साता भएका बढुवा तथा गत महिना भएको एसपी बढुवाको लिस्ट हेर्दा राजनीतिक दल हावी भएको पुष्टि हुन्छ । चेन अफ कमाण्डमा चल्ने संगठनमा दुई बर्ष जुनियर रहेका ५८ को लाई बढुवा दिएर दुई दुई बर्ष सिनियर रहेका ५६ का ७ जना डिएसपीलाई छुटाईएको थियो ।

फौजी संगठनमा यस्ता किसीमको बढुवाले दैनिक कार्य सम्पादन र चेन अफ कमाण्डमा ठूलो असर पु(याउने छ । गत साता बढुवा भएका ५४ जना प्रहरी निरक्षकमा ३४ जना बिभिन्न समयमा कारवाही भएका, निलम्बनमा परेका र जागिर छोडेर जोडेकाले बाजी मारेका छन् ।

संगठनमा कर्तव्यनिष्ठ भई काम गर्ने प्रहरी अधिकृतलाई पाखा लगाउँदै नेताको दलाली गर्ने, हाकिमको चाकडी गर्ने र आर्थिक चलखेल गर्नेको बढुवामा हालिमुहाली भएपछि आशा र भरोसाका रुपमा देखिएका संगठन प्रमुखको तिव्र आलोचन बढेको छ ।

भाषणमा नेताको ढोकामा पुग्नेलाई कारवाहीको डण्डा बर्साउछु भन्ने चिफसापले नै नेता, दलाल र माफियाको सिफारिसलाई शिरोपर गरी प्रहरीको बढुवा र सरुवा गर्न थालेपछि आईजी खनाल माथि संगठनका व्यावसायीक प्रहरी अधिकृतले आशा गर्न छाडेका छन् ।