मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

रमेश लेखक राजीनामा देऊ

सोमबार, चैत्र १८ २०८१

नेपालमा राजसंस्था महेन्द्रकालिन अवस्थाबाहेक अस्थिर सरकार छन्। बहुदलीय व्यवस्था कहिले पनि टिकेको अवस्था छैन। अझ गणतन्त्र स्थापना भएयता भ्रष्टाचारले सीमा नाघेको छ, नागरिक अनागरिक बनाएर विदेश बेचिएका छन्। श्रमशक्ति खाडीमा बेचिएका छन्। तर आतंकको आन्दोलन गरी देशको तीन पटक प्रधानमन्त्री बनिसकेका पुष्पकमल दाहाल प्रचण्ड भने अस्थिर राजनीतिको खेलमा नै सक्रिय रहेका छन्। खासगरी राजावादीको आन्दोलनका दिन समाजवादी मोर्चाका नाममा गाउँ–गाउँबाट केही हजार संख्यामा मानिस भेला पारेर प्रचण्डले तमासा देखाइरहँदा तीनकुने अर्कातिर जलिरहेको थियो।

लोकतन्त्रमा आफ्नो आवाज उठाउने अधिकार सबैलाई हुन्छ। नैरश्यताको यस अवधिमा राजावादीले राजसंस्थाको माग गरी यसै साता आन्दोलन गर्दा घुसपैठ भएको आरोप लागेको छ। सरकार त्यतातिर छानबिन गर्न छाडेर राप्रपाका नेता पक्राउ, म्याद थप, नजरबन्दजस्ता आततायी निर्णयमा लागिसकेको छ, जुन लोकतन्त्रको कुनै मर्ममा पर्दैन।

१६ बर्षसम्म राजाले मौनतामा देशाटन मात्र गरेका थिए। समयले उनको नेतृत्व मागेको हो कि नेताका कुकृत्यले माग गरेको भन्ने विषय दुनियाँलाई थाहा छ। भ्रष्टाचारको चरम सीमा पार गरेपछि देशमा जनता वाक्क दिक्क र दिग्दारी भएपछि राजसंस्था नै सही हो भन्ने निधोमा पुगेका हुन्। त्यहि निधोले स्वत स्फूर्त उपस्थिति तथा दुर्गा प्रसाईंलगायतको आह्वानले बल पुगेको थियो। तर, एक पत्रकारसहित एक सर्वसाधारणको ज्यान जानेगरी राजधानीमा भएको यो प्रदर्शनको दोषीचाहिँ गृहमन्त्री रमेश लेखकले निर्मल निवासलाई देखाइरहेका छन्। यीनको यत्तिको लाचारी र काम गर्न नसक्ने स्थिति देखेर जो कोहीले दया लागेको देखाउन सक्छ।

कुरो लोकतन्त्र या राजतन्त्रको रहेन अब। यत्तिबेलाको विषय भनेको कमजोर प्रशासनयन्त्रको हो जसलाई गृहमन्त्री लेखकले सञ्चालन गर्न सकेका छैनन्। अनेक समीकरणमा विभिन्न सरकार बनिसकेपछि अन्तिम समीकरणमा कांग्रेस र एमाले मिल्दा पनि बलियो प्रशासन बन्न नसक्ने र कुशासन चलाइरहने प्रवृत्तिबीच भएको हिंसाको दोषी राज्य हुनुपर्छ। राज्यको काम प्रतिरक्षा गर्ने, मानव अधिकारको रक्षा गर्ने र भौतिक क्षती समेत जोगाउने हो। यसमा बुद्धिमता प्रयोग नगर्दा पराजित मानसिकतामा पुगिन्छ। यसर्थ नैतिक हिसाबमा त सरकारले नै र तत्कालिन हिसाबमा गृहमन्त्री रमेश लेखकले पदमा बस्नु औचित्य रहन्न। यसकारण राजीनामा गर्नु उपयुक्त हुनेछ।