काठमाडौं । राजनीतिक अव्यस्था, भ्रष्टाचार र दलगत मनपरीतन्त्रको विकल्पमा सर्वसाधारण राजसंस्था स्थापनाका लागि आन्दोलनको अवस्थामा पुगेका छन्। राजा ज्ञानेन्द्र शाहको देशाटनले यसै साता त्यहि दृश्य मात्र होइन राजधानीमै पनि भयंकर परिदृश्य देखाएको थियो।
ज्ञानेन्द्रको पाइलाले प्रगतिशील भनिएको गणतान्त्रिक व्यवस्थाको जग हल्लिएको छ। ‘हामी १७ बर्षदेखि विदेशीको इशारामा चलेका दलबाट मुलुक खोक्रो बन्यो, राजसंस्था र हिन्दूत्व अहिलेको मुख्य एजेन्डा भनिरहेका थियौं’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाले अमृतबजार साप्ताहिकसँग भने,‘अब निर्णायक क्षण आएको छ। शिवभक्त र शिव सेना सबै एक भएर राजालाई गद्दीमा राख्ने अभियानमा लाग्न आवश्यक भयो।’
त्यसो त गणतन्त्रको हिमायती मानिएका अधिवक्ताहरू स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठसहितका अभियन्ताहरू पनि दुर्गा प्रसाईंसँग राजसंस्थाको पुनर्जीवनका लागि जोडिएका छन्।
शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डहरुले मरेका स्यालको प्रेत बोकेको भन्दै स्वागत नेपाल भन्छन्,‘हाम्रो मौलिकता हाम्रा जीवित राजा र उनको विचारले गर्छ। माक्र्स, लेलिन र माओ भनी मरेका प्रेत बोक्नेहरुको पतन अनिवार्य हुनेछ।’
नेपालले भने जस्तैगरी राजावादीको हुँकारबीच माओवादीको सात्तो गएको छ। उसले भनेको जागरण अभियान पनि स्थगित गरी कांग्रेस र एमालेसँग हारगुहार गर्ने निर्णय गरेको छ। गणतन्त्रको हिमायती दाबी गर्ने नेकपा माओवादी केन्द्रले जागरण अभियानमा नेताहरूलाई जनताले आक्रमण गर्ने सम्भावनको सूचना भएपछि स्थगित गरी काठमाडौं केन्द्रित हुन बाध्य बनेको थियो।
त्यसो त नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजालाई पूर्व भन्न नमिल्ने भन्ने विषयले पनि नयाँ संकेत गरेको छ। कांग्रेस संवैधानिक राजसंस्थाको पक्षमा रहेको भन्ने सांकेतिक अर्थ दिएको बताइन्छ।
शेखरको यो भनाई यस्तो बेला आएको छ कि माहौला ज्ञानेन्द्र शाहको पक्षमा उर्लिरहेको छ। शेखरको यो कुराले कहिँ न कहिँ कांग्रेसको कोइराला कित्ता राजाप्रति नरम छ। यति मात्र होइन कांग्रेस नै राजाप्रति नरम हुनुको कारण सभापति शेरबहादुर देउवाले उत्तेजक र भयानक बिरोधी भाषा नबोल्नु पनि हो। त्यसो त राजसंस्थाप्रति कांग्रेस लोयल भएको विषय त गणतन्त्र घोषणाअघि नै थियो। जनआन्दोलन सकिनासाथ तत्कालिन राष्ट्र प्रमुखको समेत जिम्मेवारी पाएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’ रहन सक्ने बताएका थिए।
त्यसबेला ज्ञानेन्द्रका नाती हृदयेन्द्र २ देखि ३ बर्षको उमेरका थिए। अहिले राजगद्दी सम्हाल्न सक्ने लक्का जवान र राजनीतिक बुझक्कड भैसकेका छन्। गिरिजाको उक्त अभिव्यक्तिविरुद्ध बात्यसायनले बनाएको कार्टुन कान्तिपुर दैनिकको प्रथम पृष्ठमा प्रकाशित भएको थियो। जनआन्दोलनको रापताप नसकिएका बेला वात्सायनले गिरिजाप्रसाद कोइरालाले राजतन्त्रको सिनो बोकेको कार्टुन बनाएका थिए। तर गिरिजाले किन त्यसो भनेका थिए भन्ने पनि कारण छ।
गिरिजाले बेबी किङको कुरा नेपालको राजनीतिक संक्रमणकालीन समयमा गरेका थिए। त्यो समय नेपालमा राजतन्त्र उन्मूलनको बहस तीव्र थियो र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध व्यापक जनआन्दोलन भइसकेको थियो। गिरिजाप्रसाद कोइराला समावेशी लोकतन्त्रमा विश्वास गर्थे, तर उनी तत्काल राजसंस्था पूर्णरूपमा हटाउनुभन्दा कुनै मध्यस्थ समाधान खोज्ने पक्षमा देखिन्थे। त्यसैले, उनले बेलायती मोडेल जस्तै संविधानसम्मत राजतन्त्र अपनाएर राजा ज्ञानेन्द्रलाई हटाएर युवराज पारस वा उनको छोरा हृदयेन्द्रलाई राजा बनाउने विकल्प प्रस्तुत गरेका थिए।
गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसभित्रै रहेको केही राजावादी धारलाई सन्तुलित पार्नका लागि पनि यस्तो कुरा उठाएको अनुमान गरिएको छ। त्यतिबेला नेपाली सेनाको झुकाव राजसंस्थातर्फ थियो। सेनालाई तटस्थ राख्नका लागि कोइरालाले बेबी किङको सम्भावना प्रस्तुत गरेका थिए, जसले सशस्त्र संस्थाहरूसँग पनि राम्रो सम्बन्ध कायम राख्न सक्थ्यो।
गणतन्त्रवादी भनिएकाको मुटु हल्लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि छलफल गरेका थिए।
‘शितल छलफल’ मानिएको पौडेल–ओली भेटबारे अहिले भैरहेको राजनीतिक, अराजनीतिक गतिविधिका विषयमा लामो संवाद भएको राष्ट्रपति पौडेलनिकट उच्च स्रोतले क्यानडानेपाललाई बताएको थियो। एकातिर स्वतन्त्र स्थानीय सरकारका प्रमुखहरुको बढ्दो सक्रियता र लोकप्रियता, अर्कातिर राजावादी अभियानकारी र स्वयम् ज्ञानेन्द्रको सक्रिय भूमिकासहित राप्रपाको गतिविधिबारे छलफल भएको स्रोतले जनाएको हो।