बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एआइजीको दरबन्दी बढाउन शक्ति केन्द्रमा लविङ गर्दै डीआईजी न्यौपाने

मंगलबार, बैशाख १० २०७६

काठमाडौं वैशाख, १०–
नेपाल प्रहरीका डीआईजी मनोज न्यौपानेले एआइजीको दरबन्दी बढाउन प¥यो भन्दै शक्ति केन्द्रमा लविङ गर्न थालेका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

गत साता यो विषयमा लविङ गर्नका लागि नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र झापमा केन्द्रीय सदस्यहरूको घरमा समेत पुगेका थिए ।

नेपाल प्रहरीका उच्च पदमा शक्तिकेन्द्रबीच धेरै टसल भैरहेका बेला एआइजीको दरवन्दी थप गर्ने लविङमा उनी लागेका हुन् । सरकारले प्राविधिक सहित चार दरबन्दी कायम गरेपछि उनी एआइजी हुनबाट बन्चित भएका थिए ।

अहिले आफूलाई केन्द्रमा राखेर एआइजीको दरवन्दी थप गर्न लागि परे पनि आइजीपी सर्वेन्द्र खनाल र गृहसचिव प्रेमकुमार राई सकारात्मक छैनन् । तर उनी प्रधानमन्त्रीकै सोर्सबाट एआईजीको दरवन्दी थप गर्ने पक्षमा छन् ।

पार्टीका वरिष्ठ नेता खनालले भने यो विषयमा आफू जानकार नभएको भन्दै फर्कादिएका थिए । अहिले नेपाल प्रहरीमा रोकिएको डीआईजी बढुवालाई समेत ध्यानमा राखेर डिआइजी हुने एसएसपीलाई पनि दरबन्दी थप गर्ने विषयमा लविङ गर्न दबाब दिएका छन् ।

शक्ति केन्द्रहरूको स्वार्थ बाँझिदा महिनौंदेखि रिक्त रहेको डिआईजीको एक पदमा बढुवा हुन सकेको छैन । डिआईजी बढुवाको लडाई तत्काल हल नहुने देखेपछि दुई महिना अघि गृहले त्यसलाई थाँती राखेर तल्लो तहको बढुवा निकालेको थियो ।

भावी आईजीपीका दाबेदारहरूको लडाईका कारण डिआईजी बढुवा हुन नसकेको भए पनि अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंह र प्रहरी प्रवक्ता समेत रहेका एसएसपी उत्तम सुवेदी लगायतले सिनियरलाई दिनपर्छ भनेर गृहमन्त्रालयमै लविङ गरेका कारण रोकिएको हो ।

तर यही मौकामा डिआइजी न्यौपानेले एआइजीको दरवन्दी थप गर्न लविङ शुरु गरेका हुन् । शक्ति केन्द्रले जसरी पनि विश्वराज पोखरेललाई बढुवा गर्ने अडान राखेपछि विवाद भएको हो ।

एसएसपी पोखरेलको ब्याचभन्दा अगाडिका एसएसपीहरू बढुवा भएका छैनन् । डिआइजीमा बढुवा खानाका लागि भारतस्थित नेपाली दूतावासको सहचारीलाई समेत त्यागेर लागुऔषध व्यूरोमा दरवन्दी कायम गरेका एसएसपी पोखरेललाई आफ्नै व्याचीहरूले रोकेका छन् ।

स्रोतका अनुसार डिआइजी बढुवामा विवाद लम्बिएपछि एआईजीका केही दरबन्दी थप गर्न न्यौपानेले खेलोफड्को गरेका हुन् । एआईजीको दरबन्दी बढेपछि डिआईजीका थप पद रिक्त हुने भएकाले दरबन्दी थप गर्न सुझाव दिँदै हिडेका छन् ।

नेपाल प्रहरीमा एआईजीको दरबन्दी १५ बाट चारमा झारिएको थियो । तर, केही डिआईजीहरू भने प्रदेशमै एआईजी राख्नुपर्ने भन्दै एआईजीको ८ वटा दरबन्दी थप्ने लबिङमा समेत लागेका छन् । विगतमा पनि एकपटक एआईजीलाई प्रदेशमा प्रमूख बनाएर खटाइएको थियो ।

संघीय संरचनामा जाँदा प्रदेश प्रहरी प्रमूख डिआईजी बनाउनेकी एआईजी बनाउने भन्ने बिषयमा अझै टुंगो लागेको छैन । न्यौपाने लगायतका केही स्वार्थी समूह भने एआइजी बन्न पाए अवकाशपछि संवैधानिक लाभको पदमा समेत जाने सकिने भएकाले दरबन्दी जसरी पनि थप्नुपर्छ भन्दै नेकपाको नेताहरूको ढोका कुर्न थालेका छन् ।