बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संविधानविरुद्ध गतिविधि गरेकै कारण विप्लव समूहमाथि प्रतिबन्धः गृहमन्त्री थापा

बुधबार, बैशाख ४ २०७६

हेटौंडा वैशाख, ४–
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले  ‘विप्लव’ नेतृत्वको  नेकपाले संविधानविरुद्ध गतिविधि गरेका कारण प्रतिबन्ध लगाउनुपरेको बताएका छन् । ३ नम्बर प्रदेशस्तरीय सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्न  हेटौंडा आएका गृहमन्त्री थापाले प्रतिबन्ध लगाए पनि विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको खुलासा गरे । 

गृहमन्त्री थापाले भने,‘संविधानले प्रतिबन्ध गरेका गतिविधि गरेकाले विप्लव समूहलाई हामीले प्रतिबन्ध लगाएका थियौं,  उनीहरुलाई मूलधारको राजनीतिमा ल्याउने प्रयत्न सरकारले गरिरहेको छ ।’
कुनै बेलाका आफ्नै सहयात्री समेत रहेका  विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउनुको कारण संवैधानिक गतिबिधिको उसको गतिबिधि नै भएको गृहमन्त्री थापाको भनाइ छ । 
यद्यपि,  उनले मूलधारको राजनीतिमा विप्लवलाई फर्काउन कस्तो प्रयत्न भइरहेको छ भन्नेबारेमा भने केही पनि खुलाएनन् ।

संविधान विरोधी क्रियाकलाप गरेकाले विप्लवका शीर्ष नेताहरु पक्राउ परेको गृहमन्त्री थापाले जानकारी गराए । 

उनले  राज्य विरोधि गतिविधि गरेको समयमा सीके राउतलाई पनि नियन्त्रणमा लिएको स्मरण गराए ।

सुरक्षा परिषद्को भेला डाक्नुको कारणबारे सोधिएको प्रश्नमा उनले देशको सुरक्षा अवस्थालाई सुदृढ गर्न आह्वान गरिएको बताए ।

‘आन्तरिक सुरक्षालाई सुदृढ नगरी विकार र समृद्धिलाई सुनिश्चित गर्न सकिँदैन । त्यसकारण हामी आन्तरिक सुरक्षा सुदृढ बनाउन केन्द्रित छौं’, उनले भने ।

संघीय प्रहरी ऐन नबनेको कारण प्रदेश र स्थानीय तहलाई शान्ति सुरक्षाको अधिकार नदिइएको जस्तो देखिए पनि यसको समाधान छिट्टै निकालिने उनले बताए ।