बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसको अनुशासन समितिद्वारा पार्टी हितविपरीत काम गर्नेको नाम पठाउन ७७ जिल्लामा सर्कुलर

सोमबार, चैत्र २५ २०७५

काठमाडौं चैत, २५–
पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्नेहरुलाई नेपाली कांग्रेसले कार्बाही गर्ने तयारी गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन ७७ जिल्ला कार्यसमितिलाई पत्राचार गर्ने निर्णय गरेको हो  । अनुशासन समितिको  बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो।  

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीका अनुसार समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा बसेको बैठकले कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली पनि सङ्कलनका लागि पत्राचार गर्ने निर्णय  पनि गरेको छ । 

पार्टी केन्द्रीय कार्यसमितिको यही चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य आङदम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो।

विसं २०७४ मा भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी दिने, उम्मेदवारलाई हराउन भूमिका खेल्ने र अन्तर्घात गर्ने पार्टीका सदस्यलाई कारवाही गर्न कांग्रेसले यसअघि पनि अनुशासन समिति बनाएको थियो।