गत महिनाको अन्तिम र यसै साताको सुरुआतमा रास्वपा सभापति रवि लामिछानेलाई कास्की र काठमाडौं जिल्ला अदालतले ६५ र ६० लाख धरौटी तिराउँदै सहकारी ठगी प्रकरणमा पूर्पक्षको आदेश दियो। यस क्रममा रास्वपा कार्यकर्ताले कास्कीका न्यायाधीश नितिज राईको देवत्वकरण र जाहेरवालाका वकिल बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको दानवीकरण गर्न भ्याए। यहाँसम्मकी त्रिपाठीमाथि भौतिक आक्रमण भयो जसको सर्वत्र आलोचना हुँदा रास्वपाले ठ्यास्स एउटा विज्ञप्ति जारी गरेर चोखिने दाउ रच्यो।
देवत्वकरणको ठीक विपरीत, दानवीकरण गर्ने प्रवृत्ति पनि सामाजिक सञ्जालमा समान रूपले छ। यसका केही कारण छन्।
अपूर्ण जानकारी र गलत व्याख्या। कुनै व्यक्ति वा घटनाका नकारात्मक पक्ष बाहिर आउनासाथ मानिसहरूले पृष्ठभूमि बुझ्न नखोजी आक्रोश व्यक्त गर्छन्। भावनात्मक ओभरलोड अर्को कारण हो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कुनै विषयमा लगातार जानकारी पाएपछि उनीहरू दिक्क मान्न थाल्छन् र त्यसप्रति विरोध प्रदर्शन गर्छन्। डिजिटल भीडतन्त्रको प्रभाव पनि फरक कारण हो। सामाजिक सञ्जालमा व्यक्त गरिने असन्तुष्टि चाँडै हिंसात्मक वा नकारात्मक आलोचनामा बदलिन सक्छ। यसले व्यक्तिको छविलाई पूर्ण रूपमा नष्ट गर्ने काम गर्छ। देवत्वकरण र दानवीकरणको यो चक्रले समाज र व्यक्तिमा गहिरो प्रभाव पार्छ।
यस्तो व्यवहारले लक्षित व्यक्तिमा गम्भीर मानसिक तनाव उत्पन्न गर्न सक्छ। प्रायः सेलिब्रिटी, सामाजिक अभियन्ता, वा राजनीतिज्ञ यसको मुख्य शिकार बन्छन्। यसले समाजमा ध्रुवीकरण बढाउँछ। एक पक्षले कुनै व्यक्तिलाई देवता मान्छ भने अर्को पक्षले उनलाई पूर्ण रूपमा खलनायक ठहराउँछ। देवत्वकरण र दानवीकरण दुवैले कुनै व्यक्तिको वास्तविकताको मूल्याङ्कन गर्ने क्षमता कमजोर बनाउँछ।
सामाजिक सञ्जालमा यस्ता प्रवृत्तिहरूलाई न्यूनीकरण गर्न सकिन्छ। समीक्षित सोचको अभ्यासको बढावा दिनुपर्छ। कुनै पनि जानकारी पाउनासाथ तुरुन्त प्रतिक्रिया दिनुको सट्टा त्यसको सत्यता र सन्दर्भ जाँच्न आवश्यक छ। प्रयोगकर्ताहरूलाई तथ्य जाँच्न सिकाउने र ट्रोल वा नकारात्मक प्रवृत्तिबाट बच्न सचेत गराउने अभियान सञ्चालन गर्नु पर्छ। सामाजिक सञ्जालमा सकारात्मक र दीर्घकालीन संवादको परम्परा विकास गर्नुपर्छ। सामाजिक सञ्जालको प्रभावशाली क्षमता हामी सबैको हितमा प्रयोग गर्न सकिन्छ, यदि हामी यसलाई जिम्मेवार र सचेत रूपमा प्रयोग गर्छौं भने। देवत्वकरण र दानवीकरणको चक्रलाई रोक्नका लागि सूचित र विवेकी प्रयोगकर्ता बन्नु हाम्रो पहिलो जिम्मेवारी हो। सामाजिक सञ्जाल केवल भावनाको बहाव होइन, विचार र तथ्यको सन्तुलन हुनु आवश्यक छ।
यसर्थ अहिले जसरी धरौटीमा छाडेको मात्र, क्लिन चिट दिएको हैनलाई पनि रविका पक्षधरले न्यायाधीश नै भगवान हुन् भनेर प्रचार गरिरहेका छन्। भोलीका दिनमा उनको इजलासले तयार पारेको पूर्ण फैसलामा दोषी देखाएर पक्राउ गरी जेल हाल्ने लेखियो भने के होला? त्यसबेला अहिले भगवान बनाएकाहरुले न्यायाधीश राईको दानबीकरण नगर्ने ठेक्का कसैले लिन सक्छ? यसर्थ रास्वपा कार्यकर्तालाई सुझाव छ कसैको पनि दानवीकरण र देवत्वकरण बन्द गर।