बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पोखरेल राजीनामा देऊ

सोमबार, पुष २२ २०८१

सहकारी ठगी अभियोगमा रास्वपा सभापतिमाथि अनुसन्धान सुरु भएपछि उनको राजीनामा माग गर्ने नेकपा एमालेका नेताहरूले अहिले विभिन्न प्रकरणमा नाम मुछिएका र विवादमा तानिएका लेखा समिति सभापति ऋषिकेश पोखरेलको बचाऊ गरिरहेको छ। यो एक प्रकारको राजनीतिक बेइमानी मान्नुपर्छ।

पदीय दायित्वबाट अलग रहनुपर्नेगरी सहकारी ठगी प्रकरणमा पत्नी र ठगी प्रकरणमा प्रमुख स्वकीय सचिवमाथि अनुसन्धानका लागि पक्राउ पूर्जी जारी हुँदा पनि ऋषिकेश भने शक्ति केन्द्रको उपयोगमा सक्रिय रहेका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका कारण नै उनले राजनीतिक नैतिकता देखाउन अटेर गरेका हुन्। ऋषिकेशका प्रमुख स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरिसकेको छ। उनकी पत्नी अञ्जला कोइराला सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएकी महिला हुन्। शक्तिका आडमा कोइरालालाई पनि जोगाउन पोखरेल उद्दत रहेका छन्।

प्रमुख स्वकीय सचिव पोखरेलविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा उच्च अदालतबाट पुस ११ गते नै परमादेश जारी भएको थियो। तर, अझै पनि शक्ति केन्द्रको प्रयोग गर्नका लागि उनी सक्रिय रहेका छन्। एक जना सामान्य मानिससँग जागिर लगाइदिने नाममा पोखरेलले ३८ लाखभन्दा बढी ठगी गरेको पाइएको हो। जसको जाहेरी प्रहरीले लिन मानेको थिएन।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले अनिलकुमार पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको थियो। पोखरेल २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधसभा निर्वाचन क्षेत्र नम्बर २ को कोशी प्रदेशसभा क्षेत्र नम्बर (२) बाट उम्मेदवार सिफारिस भएका थिए। उक्त निर्वाचन क्षेत्रबाट अन्तिममा लिलाबल्लभ अधिकारीले टिकट पाए पनि जिल्लाबाट अनिल पोखरेललगायतका नेताहरु पनि सिफारिसमा परेका थिए। २०८० भदौमा ऋषिकेश लेखा समिति सभापति निर्वाचित भए।

प्रदेशसभा सदस्यको टिकट नपाएको अनिल भने ऋषिकेश पोखरेलका स्वकीय सचिव बनेका थिए। बौवालाल चौधरीकी छोरीको नाम एमबीबीएसको इन्ट्रान्समा निकालिदिन्छु र होस्टेलमा बस्ने व्यवस्था मिलाइदिन्छु भनेर अनिलकुमार पोखरेलले ३८ लाख ८० हजार रुपैयाँ लिएको अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ। अनेक प्रकारका विवाद पोखरेलसँग ठोकिन्छन्। यति धेरै विवाद आउँदा पनि पदीय दायित्वमा जबरजस्ती बस्नु राजनीतिमा नैतिकताको खडेरी मान्नुपर्छ। यसर्थ, तत्काल लेखा समिति सभापतिबाट राजीनामा दिएर पोखरेलले इमान देखाउन सकुन्।